काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’
‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै हो भन्ने फैसला हुन्छ ।
के प्रचण्डले भने जस्तो निर्वाचन आयोगले नेकपाको आधिकारिता विवादमा निर्णय गर्दैछ त ?
आयोग स्रोतका अनुसार नेकपाको आधिकारिकता दाबी गर्दै दाहाल–नेपाल पक्षले २० माघमा दिएको निवेदनबारे छलफल भइरहेको छ ।
पछिल्लो दुई दिनयता तीन विकल्पमा लगातार छलफल भइरहेको छ, तर आयुक्तहरु कुनै टुंगोमा पुगेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित नेकपाको दुबै समूह आफ्नो निर्णय अध्यावधिक गरिदिन माग गर्दै आयोग पुगेका थिए ।
ओली समूहले विधान संशोधन गर्दै केन्द्रीय कमिटी विस्तार गरेको थियो भने प्रचण्ड–माधव समूहले ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो ।
तर आयोगले ११ माघमा दुबै पक्षको दाबी अस्वीकार ग¥यो र ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दियो ।
त्यसपछि मात्र प्रचण्ड–माधव समूह २० माघमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोग गएको थियो ।
तर दफा ४४ को १ अनुसार विवाद भएको ३० दिनभित्र आधिकारिकताको दाबी आयोगमा पेश गर्नुपर्ने हुन्छ । यही हदम्याद नाघेका कारण देखाएर प्रचण्ड–माधव समूहको निवेदन तामेलीमा राख्ने पहिलो विकल्पमा छलफल भइरहेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको ओली समूहको दबाव पनि यही छ ।
आयोग स्रोतका अनुसार अर्को विकल्प आयोगले माघ ११ मा गरेको निर्णयको प्रतिउत्तरमा निवेदन आएकाले विवादमा प्रवेश गर्ने र निर्णय दिने छ ।
यो विकल्पमा गयो भने ऐनअनुसारका प्रक्रिया पूरा गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जसको बहुमत छ, त्यसलाई नै आधिकारिकता दिनेछ ।
अर्को विकल्प भने विवादमा प्रवेश गर्ने, तर अल्पमत बहुमत हेरेर कुनै एउटा पक्षलाई वैधानिकता नदिने छ ।
आयोग स्रोतले भन्यो, ‘यो विकल्पमा ऐनको दफा ४४ अनुसार विवादमा प्रवेश गरेर दुबै पक्षलाई बोलाएर मिल्न अनुरोध गरिनेछ ।’
आयोगमाथि प्रधानमन्त्री ओलीको दबाव र प्रभावमा परेर नेकपाको आधिकारिकता विवाद अड्काएको आरोप पनि लाग्ने गरेको छ । तर प्रचण्ड–माधव समूहका नेताहरुले भने आयोगले आफूहरुलाई बैधानिकता दिने दाबी गर्छन् ।
एक नेता भन्छन्, ‘हामी संवैधानिक आयोगमाथि अविश्वास गर्दैनौं, तर कुनै कारण हद म्याद नाघेको भनेर निवेदनलाई तामेलीमा राखियो भने हामीसँग अदालतमा जानुबाहेक अर्को विकल्प रहँदैन ।’