प्रधानमन्त्री ओलीले भने– ‘म प्रधानमन्त्री छोड्न तयार छुँ’


ओकेजनता डेस्क
१७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन नेकपा (आन्दोलनरत पक्ष)लाई चुनौती दिनुभएको छ ।

कास्कीको पोखरामा आयोजित नेकपा ओली पक्षको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिनुभएको हो । विधि र पद्धति अनुसार आफूलाई हटाए प्रतिपक्षमा बस्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

ओलीले प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने भन्दै विधि र प्रक्रियाबाट आउन समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग भइरहेको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूले संसद विघटनपछि देशले निर्वाचनको बाटो लिए पनि सर्वोच्चको फैसलाले फेरि देश अप्ठरोमा परेको बताउनुभयो ।

आफूहरुले सर्वोच्चको फैसला माने पनि त्यसले कुनै परिणाम नदिने ओलीको दाबी थियो । एक फरक प्रशंगमा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन कार्यकर्ताहरुलाई अपिल गर्नुभयो ।

उहाँले हरेक परिस्थितिको सामना गर्ने पनि दाबी गर्नुभएको छ । संसदमा अविश्वासको प्रस्ताव पारित भए आफूले छोड्न तयार रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्