अंकगणित यस्तो छ : नागरिकता लिएर पेरिसडाँडा


ओकेजनता डेस्क
१७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सोमबार बसेको दाहाल–नेपाल पक्षको सचिवालय बैठकपछि केन्द्रीय समितिको बैठक फागुन १९ गतेका लागि तय गरिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।

दाहाल–नेपाल पक्षका नेता विष्णु रिजालले पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्र सहित अनिवार्य उपस्थितिको लागि सर्कुलर आएको बताए । बैठक दिउँसो १ बजे बस्नेछ ।

यस्तै फागुन १९ अघि नै पार्टी स्थायी समितिको बैठक पनि बस्नेछ ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको पनि बताए ।

उनले भने, ‘निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामिले अनुरोध गरेका छौँ ।’

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्षबीच सांसद र केन्द्रीय सदस्य तानातानको अवस्था रहेको छ ।

दाहाल–नेपाल पक्षले आफूहरुसँग केन्द्रीय समिति र संसदीय दल दुबैमा आफ्नो बहुमत रहेको दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्