यसकारण प्रधानमन्त्री ओली झापामा कमजोर


ओकेजनता डेस्क
१७ फाल्गुन २०७७, सोमबार

झापा । केही वर्षअघिसम्म जग्गावालका छोरा–नाति पदमबहादुर माझी जीवनको उत्तरार्द्धमा मानसिक रोगीजस्तै बनेका छन् । खानाको ठेगान छैन । दिनहरू भौंतारिएर बित्छ । जोकोहीसँग भेट हुँदा उनी आग्रह गरिहाल्छन्, ‘मलाई न्यायका लागि सहयोग गरिदिनुप¥यो ।’

आफ्नो पुस्तैनी १० कट्ठा १६ धुर जग्गा राज्य पक्षले हडपेको भन्दै पदमबहादुर ७१ वर्षको उमेरमा न्यायका लागि हारगुहार गरिरहेका छन् तर उनको गुहार सुन्ने कोही छैन ।

‘छरछिमेक, प्रहरी, नगरपालिका, बुद्धिजीवी, नागरिक समाज कसैबाट पनि पर्याप्त सहयोग पाइनँ,’ उनले भने, ‘न्यायका लागि म ५० वर्षदेखि एक्लै लडिरहेको छु ।’ आफ्नो नामको उक्त जग्गा दमक नगरपालिकाले जबर्जस्ती हडपेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक निवासी हरिमाया मझिनी २०२१ सालअघि २८ बिघा जग्गाकी धनी थिइन् । उनी पति हरिबहादुर र छोरा धनबहादुर माझीको निधनपछि नाति पदमबहादुरसँग बस्दै आएकी थिइन् ।

मझिनीले नै आफ्नो निजी जग्गामा साप्ताहिक रूपमा प्रत्येक बुधबार लाग्ने गरी दमकमा बजार लगाउन सुरु गरेको दाबी गरिन्छ । बुधबारको बजार पहिला रतुवा नदीको बगरमा लाग्दै आएको थियो ।

२००८ सालमा रतुवा नदीमा आएको ठूलो बाढीले बजार बगायो । बाढीले बगाएको बजारलाई मझिनीले दमक नगरपालिका ७ (साविक १२) हाटखोलास्थित आफ्नो निजी जग्गामा सारेकी थिइन् ।

बजार लगाएबापत मझिनीले प्रत्येक पसलेबाट पैसा उठाउँथिन् । त्यही पैसाले मझिनी र नाति पदमबहादुरको दैनिकी चल्थ्यो ।

२०२१ सालमा भएको नापीले हाटखोलाको जग्गालाई ‘हटिया’ भनेर उल्लेख ग¥यो ।

पुर्ख्यौली जग्गालाई नापी टोलीले ‘हटिया’ भनेर उल्लेख गरेपछि माझी परिवारमा संकटका दिनको सुरुवात भयो ।

जग्गाधनी मझिनी र नाति पदमबहादुरले उक्त जग्गा आफ्नो भएको प्रमाण देखाउँदै हिँडिरहे तर दमक गाउँ पञ्चायतले हाटखोलाको जग्गा सरकारी भएको दाबी सुरु ग¥यो ।

रैती नं. १६९ का रैती हरिमाया मझिनीको नाममा कित्ता नं. ६४२ को हाटखोलामा ११ कट्ठा ४ धुर जग्गा दर्ता थियो ।

उक्त कित्ता नम्बरबाट मझिनीले ८ धुर जग्गा आसबहादुर श्रेष्ठलाई बिक्री गरेकी थिइन् । उक्त जग्गा मझिनीको नामबाट आसबहादुरले २०३८ वैशाख २० गते भूमि सुधार कार्यालय झापाबाट आफ्नो नाममा दर्ता गरेको प्रमाण भेटिन्छ ।

जग्गा बिक्रीपछि मझिनीको नाममा रहेको कित्ता नं. ६४२ फोर भएर कित्ता नं. ९९२ र ९९३ बन्यो । आसबहादुरले खरिद गरेको ८ धुर जग्गा कित्ता नं. ९९२ मा दर्ता भयो ।

आसबहादुरको निधनपछि उक्त जग्गा उनका छोरा जुद्धबहादुर श्रेष्ठले पाएका थिए । ९९२ कित्ता नं. को ८ धुर जग्गाबाट जुद्धबहादुरले ४ धुर जग्गा बिक्री गरेका थिए ।

९९२ को कित्ताफोड (विभाजन) भई कित्ता नम्बर १४८१४ मा ४ धुर जग्गा उत्तरबाट दमक नगरपालिकाले जुद्धबहादुरसँग खरिद गरेको देखिन्छ ।

कित्ता नम्बर १४८१५ मा बाँकी रहेको ४ धुर जग्गा जुद्धबहादुरका नाममा धनीपुर्जासहित कायम छ ।

८ धुर जग्गा बिक्रीपछि १० कट्ठा १६ धुर कित्ता नं. ९९३ को जग्गा हरिमाया मझिनीको निधनपछि हकवाला पदमबहादुर माझीका नाममा दर्ता रहेको देखिन्छ ।

सबुत प्रमाण हुँदाहँककदै राज्य पक्षले बलजफ्ती आफ्नो पुर्ख्यौली जग्गा हडपेपछि पदमबहादुर उक्त जग्गाका लागि थप कागज बनाउनतिर जुटे ।

झापा जिल्ला वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगले २०४६ असार २९ गतेको निर्णयले कित्ता नं. ९९३ को १० कट्ठा १६ धुर जग्गा पदमबहादुर माझीका नाममा दर्ता रहेको भनी धनीपुर्जा प्रमाणपत्र उपलब्ध गराएको कागज भेटिन्छ ।

पदमबहादुरले उक्त जग्गाको २०५३÷५४ सालसम्मको मालपोत दमक नगरपालिकामा तिरेको प्रमाणसमेत भेटिन्छ । त्यसपछि नगरपालिकाले मालपोत लिन अस्वीकार गरेको माझीले बताए ।

नगरपालिकाले २०७२ फागुन ९ गते हाटखोलामा बसोबास गर्ने स्थानीयवासी तथा पसल सञ्चालकलाई घरटहरा खाली गराउन सूचना प्रकाशन गरेको थियो ।

त्यसपछि पटकपटक सूचना गर्दासमेत उक्त जग्गामा बसोबास गर्ने स्थानीयले घरटहरा नभत्काएपछि २०७५ जेठ ५ गते नगरपालिकाले प्रहरी घेराबीच डोजर लगाएर टहरा भत्काएको थियो ।

नगरपालिकाले उक्त जग्गामा अत्याधुनिक सपिङ मल बनाउने योजना अघि सारेको छ ।

दमक नगरपालिकाले उक्त जग्गा २०६१ सालमा नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट ‘भोगाधिकार प्राप्त गरेको’ दाबी गर्दै आएको छ ।

पदमबहादुरले उक्त जग्गा आफ्नै भएको पुष्टि गराउने कागजले भरिएको एउटा टिनको बाकस सुरक्षित राखेका छन् ।

कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्