निर्वाचनले दाहाल–नेपाल पक्षलाई आधिकारिकता दिँदै


ओकेजनता डेस्क
१६ फाल्गुन २०७७, आईतवार

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विवादको समाधान गर्ने तयारी गरेको छ ।

आयोगले केन्द्रीय सदस्यको बहुमतका आधारमा पार्टीको आधिकारिकता नाम र निर्वाचन चिन्हको तय गर्ने स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले विधानमा टेकेर गरेको फैसलालाई नजीर राख्दै आयोगको पनि निर्णय आउने स्रोतले जनाएको छ ।

नेकपाको आधिकारिकता तथा निर्वाचन चिन्हको बारेमा देखिएको विवाद निरुपनका लागि निर्वाचन आयोगले तयारी थालेको हो ।

निर्वाचन आयोग स्रोतका अनुसार सरकारले घोषणा गरेको निर्वाचन तत्कालका लागि रोकिएकाले पार्टी विवाद निरुपणका लागि दुबै पक्षको निवेदनमाथि अध्ययन जारी रहेको छ ।

पार्टीमा देखिएको विवाद निरुपणका लागि आयोगले संवैधानिक व्यवस्था, कानूनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर अध्ययन अन्तिम चरणमा पुर्याएको आयोग स्रोतले जानकारी दिएको छ ।

नेकपामा नाम र निर्वाचन चिन्हबारे विवाद कायम रहेको छ । आधिकारिकता पाउनका लागि दुवै पक्षले केन्द्रीय सदस्यको टाउका गन्ती गर्नुपर्ने बाध्यता छ ।

यतिबेला दाहाल–नेपाल पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्