सांसद तानातान : बलियो पक्ष यता देखियो


ओकेजनता डेस्क
१५ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनले सांसद तानातानको स्थिति पैदा भएको छ । संसद बैठक फागुन २३ गते बोलाउने मन्त्रिपरिषद् बैठकको सिफारिस सँगै सांसदको तानातान शुरु भएको छ ।

अहिले नेकपाको दाहाल–नेपाल पक्षले सांसदहरुको संख्या आफ्नो पक्षमा बढी रहेको दाबी गरेको छ । उता, प्रधानमन्त्री ओली पक्ष पनि संसदमा आफ्नो बलियो उपस्थिति रहेको दाबी गरिरहेको छ ।

२३ गते संसदमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव फेस गर्ने बताएका छन् । यता, दाहाल–नेपाल पक्षले पनि अविश्वासको प्रस्ताव दर्ज गर्ने भएका छन् ।

दुई तिहाइ बहुमत भएको नेकपाको लागि अहिलेको परिस्थिति असहज बनेको छ । दुवै पक्षले दोस्रो ठूलो दल कांग्रेस र तेस्रो दल जसपालाई लिएर सरकार बनाउने रणनीति बनाएका छन् ।

संसारका मजदूर वर्ग एक हौँ भन्ने कम्युनिष्टको अहिलेको फोहोरी खेल इतिहासकै दुर्गन्धित भइरहेको जानकार बताउँछन् । राजनीतिक शक्तिमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका सुझावलाई आत्मसात गरेर अगाडि बढे यो परिस्थितिको सिर्जना नहुने धेरैको बुझाइ छ ।

यता, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टीभित्र निकै ठूलो गुट निर्माण गर्न नहुने अर्कोथरीको भनाइ छ । समग्रतामा हेर्दा दुई टाउकोलाई विश्राम दिएर तेस्रो व्यक्तिको नेतृत्वमा सरकार बन्नुपर्ने नेकपा दुवै पक्षका नेताको भनाइ छ ।

अहिलेको अवस्थामा राजनीतिक संकट समाधान गर्न सकिएन भने बाह्य तत्वले झनै खेल्ने मौका पाउने राजनीतिक विश्लेषकहरुको तर्क छ । यता, नेकपाको दुवै पक्ष इगो बोकेर सरकार बनाउने र ढाल्ने प्रयत्न गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्