नेकपा दुवै पक्षले नपाउने, यस्तो छ तयारी


ओकेजनता डेस्क
१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । यतिबेला नेकपाका दुई पक्षमा आधिकारिकता र निर्वाचन चिन्हबारे विवाद छ । आधिकारिकता कसले पाउने भन्ने नै निक्र्यौल गर्न छैन ।

सर्वोच्च अदालतले यही फागुन २० गते नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दैछ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउने क्रममा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्यसअघि उनले निर्वाचन आयोगमा आफ्नो पार्टीसँग नाम जुध्ने गरी अर्को दल दर्ता गरेको भनेर उजुरी गरेका थिए तर आयोगले कार्तिक ९ गते खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

अदालतमा विचाराधीन सो मुद्दाको अन्तिम फैसला यही फागुन २० गते हुन लागेको हो ।

रिट दायर गरेको झन्डै साढे २ वर्षपछि सर्वोच्चले फैसला गर्न लागेको यो मुद्दाको खास अर्थ रहेको छ ।

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्कोतिर रहेर नेकपाको आधिकारिकता आफ्नो पक्षमा दावी गरिरहेका छन् ।

यसबारेको विवाद निर्वाचन आयोगले टुङ्ग्याउन सकेको छैन । यदी २० गतेको फैसला ऋषि कट्टेलको पक्षमा भयो भने ओली तथा प्रचण्ड नेपाल पक्षले छुट्टै दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ ।

उनीहरुको स्वामित्वमा नेकपा नै नरहेपछि उनीहरु कि नयाँ दल दर्ता गर्ने वा पुरानै दलमा फर्कनुपर्ने हुन्छ ।

नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषि कट्टेल आफ्नो पक्षमा फैसला आउनेमा विश्वस्त रहेको बताउँछन् ।

उनका तर्फबाट बहस गरेका २ जना अधिवक्ताहरूले मुद्दा जितिने स्पष्ट आधार रहेको बताएको उनले रातोपाटीलाई सुनाए ।

पार्टीको नाम राख्दा जुधाएर राख्न पाइँदैन भन्ने कानुनमै प्रष्ट व्यवस्था रहेको बताउँदै कट्टेलले अब अदालतले कस्तो फैसला गर्छ हेर्न बाँकी रहेको बताए ।

यतिबेला दुई पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा पार्टीको आधिकारिकता र चुनाव चिन्हबारे विवाद चलिरहेको छ ।

यदी अदालतले कट्टेलको नेकपाको पक्षमा फैसला गरेमा दुई पार्टीलाई अलग हुन सजिलो हुनेछ । उनीहरु आफ्नो पहिलेकै दलमा फर्कन बाटो खुल्ने वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी बताउँछन् ।
तर अदालतको फैसला कट्टेलको पक्षमा गएपनि नेकपाको पछाडि अर्को कुनै संकेत राखेर जाने, पुरानो पार्टीमै फर्केर जाने अवस्था नआउने नेकपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता देव गुरुङ बताउँछन् ।

निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल पक्ष नेकपा कि ओली पक्ष नेकपा कसलाई आधिकारिकता दिने भन्नेबारेमा टाउको दुखाइ बनेको छ ।

आफूसँग बहुमत केन्द्रीय सदस्य रहेको दावीसहित प्रचण्ड पक्ष आयोग पुगे पनि आयोगले फैसला गर्न सकेको छैन । प्रचण्ड पक्षले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार आफ्नो पक्ष वैधानिक रहेको र निर्वाचन चिन्ह आफूले पाउनुपर्ने दावी गरिरहेको छ ।

उता अल्पमतमा रहको ओली समूहले पार्टीमा विवाद उत्पन्न भइसकेपछि ११ सय ९९ केन्द्रीय समिति घोषणा गरेको छ भने आफ्नो पार्टीमा अध्यक्ष, महासचिव पदाधिकारी रहेको, महासचिवले बोलाएको बैठक मात्र आधिकारिक हुने लगायतका तर्क पेश गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्