काठमाडौं । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाको निर्णय गरेसँगै नेकपाका खुसीयाली छायो । दाहाल–नेपाल पक्षले ११ गते साँझ दिपप्रज्वलन गरे ।
१२ गते देशैभर विजय जुलुसपनि गरियो । यो दृष्य हेर्दा लाग्थ्यो– निकै ठूलो उपलब्धि हासिल भयो । युगलाई जितियो । तर, दाहाल–नेपाल पक्षले अबको यात्रा झन कठिन मोडमा गएको भुतुक्कै बिर्सियो ।
अहिले त्यहीँ विषयले नेकपामा समस्या सिर्जना भएको छ । निर्वाचन आयोगले आधिकारिकता दिन नसकिरहेका बेला अन्य दलले नेकपालाई विश्वास गर्न सकिरहेको छैन ।
सर्वोच्चको फैसलापछि नेकपा (दाहाल–नेपाल पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपालले एकआपसमा मिठाइ साँटासाँट गरे ।
मिठाइ कसले अगाडि खायो भन्ने सर्वत्र चर्चा चुलिएको थियो । तर, अहिलेसम्म यो कुरा सार्वजनिक भएको छैन ।
यता, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ ।
बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए ।
काँग्रेससँग मिलेर सरकार बनाउनका लागि दाहाल–नेपाल पक्षले प्रस्ताव गरेको स्रोत बताउँछ ।
जवाफमा देउवाले अहिले हतार गर्नुहुँदैन, यसबारे पार्टीमा छलफल गरेपछि थप कुरा गर्ने बताएको स्रोतको भनाइ छ ।
नेकपाको दाहाल–नेपाल पक्षले जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग पनि नयाँ सरकार गठनबारे छलफल गरिरहेको बताइन्छ ।
तर, काँग्रेस सहमतिमा आएर जसपा नेपाल नभए पनि सरकार गठन हुने परिस्थितिका कारण प्रचण्ड–माधव पक्षले जसपालाई त्यति महत्व दिएको छैन ।
अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
नेकपाको पक्ष, काँग्रेस, जसपाले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिए प्रतिनिधसभामा अविश्वासको प्रस्ताव ल्याउनेबारे दलहरुबीच छलफल भइरहेको छ ।