काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वामित्वलाई लिएर चलेको विवादमा सर्वोच्च अदालतले यही फागुन २० गते निर्णय सुनाउने भएको छ ।
अहिले नेकपाका विभाजित दुई पक्षले आफू–आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् । उता ऋषिराम कट्टेलले नेकपा पहिले आफूले दर्ता गराएको बताएका छन् ।
सो विवादको सम्बन्धमा बिहीबार सुनुवाइ सकिएपछि न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोकेको हो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएलगत्तै निर्वाचनमा नेकपाको नाममा दल दर्ता गरिएको थियो ।
सो भन्दाअघि नै आफूले उक्त नाममा दल दर्ता गरिसकेको उल्लेख गर्दै ऋषिराम कट्टेलले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।
आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखिएको उल्लेख गर्दै रिट निवेदनमा त्यसलाई खारेज गरी आफ्नो पार्टीलाई आधिकारिकता दिन माग गरिएको थियो ।
नेकपा र माओवादी पार्टी एकीकरण हुनासाथ आयोगमा नेकपा नामको पार्टी दर्ता गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रत्यक्ष अगुवाइमा सो पार्टी गठन गरिएको भनी आरोप लाग्दै आएको थियो ।
नेकपाको पार्टी विवाद हुँदै नाममा समेत विवाद खडा भएको छ । यतिबेला दुवै पक्ष एकअर्कालाई रिझाउन लागेका छन् ।
सर्वोच्चले प्रतिनिधि सभा पुनस्र्थापित गरिदिएपछि अहिले दुवै पक्ष सकसमा परेका छन् ।