सर्वोच्चले १३ दिनमै संसद बोलाउन आदेश दिनुको यस्तो कारण…


ओकेजनता डेस्क
१३ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापित गर्ने फैसला सुनाएको सर्वोच्च अदालतले किन १३ दिनमै संसद बोलाउन आदेश दियो भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ ।

आखिर १३ दिननै किन दिइयो त ? यसको खास कारण के हो त ? भन्ने विषयमा सर्वत्र चासो भइरहँदा केही प्रक्ष्येपण गरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदरसँगै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई दिएको आदेशमा १३ दिन भित्र बैठक बोलाउने भनेको छ।

धेरैले सर्वोच्चले यसरी १३ दिन नै किन तोक्यो भन्ने भेउ पाउन सकेका छैनन् । तर सर्वोच्च्को फैसला मिहिन ढंगले हेर्ने हो भने यो अर्थपूर्ण छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन पुस ५ गते गरेका थिए ।

जबकी त्यतिबेला सरकारको जिम्मा प्रतिनिधि सभाको अधिवेशन आव्हानको थियो । संविधानमा संसदको एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा ६ महिना भन्दा लामो अन्तर हुन नहुने व्यवस्था छ ।

त्यसअघि संसदको अधिवेशन २०७७ असार १८ गते अन्त्य भएको थियो । जसको छ महिना पुसको १८ गते पुग्थ्यो । यस्तोमा त्यतिबेला प्रधानमन्त्रीले पुस १७ गते भित्र संसदको अधिवेशन आव्हान गर्नुपर्ने हुन्थ्यो ।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेकाले त्यतिबेलाको बाँकी १३ दिनको हिसाब सर्वोच्चले लगाएको हो । सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

बदर गर्दा सर्वोच्चले कानुनी प्रभाव शुन्य हुने उल्लेख गरेको थियो । सर्वोच्चले सोही आधारमा प्रतिनिधि सभा बैठक १३ दिन भित्र डाक्न भनेको हो।

प्रतिक्रिया दिनुहोस्