आकःस्मिक मन्त्रिपरिषद् बस्दै, यस्तो छ तयारी


ओकेजनता डेस्क
११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सुरक्षा परिषद्को बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बोलाएका छन् । मंगलबार बिहान ९ बजे बस्नेगरी परिषद् बैठक परिषदका सदस्यसमेत रहेका एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल हुने छ । स्रोतका अनुसार प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेको रिटको फैसलालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको बुझिएको छ ।

सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्धको फैसला एकदुई दिनभित्रै सुनाउने तयारी गरेको बताइएको छ । यता, नेत्रविक्रम चन्द विप्लव समूहको प्रतिबन्ध फुकुवाबारे निर्णय गर्न मन्त्रिपरिषद् बस्न लागेको हो ।

परिषद्का अध्यक्ष प्रधानमन्त्री तथा सदस्यहरुमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्यसचिव सदस्यका रुपमा रहेका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने पनि तयारी छ । मन्त्रिपरिषद् बैठक १० बजे बस्नेगरी सूचना आएको ति मन्त्रीको भनाइ छ ।

मन्त्रिपरिषद्को निर्णयले आजै विप्लवलाई लगाइएको प्रतिबन्ध फुकुवा हुने बुझिएको छ । ओली पक्षका एक नेताका अनुसार सरकारले अब ससाना कम्युनिष्ट पार्टीसँग एकताको तयारी गरेको छ ।

यसअघि विप्लव समूहका महासचिव चन्दले सरकारसँग केही शर्तमा वार्ता गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्