संसद विघटनविरुद्धको फैसला तयारी, आज सर्वोच्चमा के हुँदैछ ?


ओकेजनता डेस्क
११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिन् । यतिबेला प्रतिनिधि सभा विघटनविरुद्ध सिंगो मुलुक उर्लेको छ ।

नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइमा ‘वेष्ट ब्रेन’ भएको जमात प्रतिनिधि सभा विघटनको विरुद्धमा छ । प्रतिपक्षी दल नेपाली कांग्रेस आन्दोलनरत भएपनि सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा उभिएका छन् ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ ।

४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्नेछ ।

सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो ।

सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो ।

अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि एमिकस क्युरीको राय लिइएको थियो ।

अबको तीन दिनभित्र सर्वोच्चको फैसला आउने तयारी गरिएको छ । सर्वोच्चको फैसला पछि मुलुकको परिस्थिति कता जान्छ भन्नेमा धेरै नागरिक चिन्तित छन् ।

देशको राजनीति नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अस्थीर पारेपछि मुलुकको गति गलत दिशामा गइरहेको बौद्धिक जमातको भनाइ छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्