सपना लिन हेलिकोप्टर


ओकेजनता डेस्क
११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । आजभोलि मानिस सुविधा भोगी भइरहेको छ । मानिसले आर्थिक भन्दा पनि सामाजिक प्रतिष्ठाका लागि विभिन्न क्रियाकलाप गरिरहेको पाइन्छ ।

आइतबार सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर २ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो ।

यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो । उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर अवतरणको अनुमति दिए ।

आइतबार दुलाहा दिनेशसहित बेहुला पक्षका पाँचजना चढेको हेलिकोप्टर मसुरोको खेतमा अवतरण भयो र सोही दिन राति दिनेशसँग ब्रह्मपुरीकी सपना यादव वैवाहिक जीवनमा बाँधिइन् ।

वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दिनेशले दुलही सपनालाई सोमबार दिउँसो ४ बजे कैलाश हेलिकोप्टर सर्भिसेजकै हेलिकोप्टर चढाएर लट्टाटोल लगेका हुन् ।

अर्नामा गाउँपालिकामा हेलिकोप्टर चार्टर गर्ने दिनेश पहिलो व्यक्ति हुन् । दुलाहा दिनेश र उनका बुवा रामविलाससहित पाँचजना जन्ती हेलिकोप्टरमा आएका थिए । पेसाले किसान रामविलासका एक्ला छोरा हुन् दिनेश । उनी पेसाले मेडिकल प्रतिनिधि हुन् ।

मानिसहरु अचम्ममा परेका थिए । दुलही लिन पनि हेलिकोप्टर भन्दै हेर्नेको भिड लागेको थियो । सामान्यतया हेलिकोप्टर नजिकबाट नदेखेकाहरुले तस्बिर पनि खिचेका थिए ।

हेलिकोप्टरको आवाज र दृष्यले गाउँपनि एकपटक रमाइलो भएको थियो । बुढापाकाहरु पनि नजिकबाट हेलिकोप्टर हेर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

आजको नागरिक दैनिकमा समाचार छ

 

प्रतिक्रिया दिनुहोस्