प्रधानमन्त्री ओलीले भने– निर्मलाले न्याय पाउँछिन्


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयप्रति आफ्नो पूर्ण विश्वास र सम्मान रहेको बताउनुभएको छ । कञ्चनपुरको दैजीछेला औधोगिक क्षेत्रको शिलान्यासका क्रममा ओलीले सरकार विकासप्रति प्रतिवद्ध रहेको बताउनुभयो ।

कञ्चनपुरस्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले अदालतलाई सधैँ सम्मान गर्ने बताउनुभएको हो ।

शनिबार विराटनगरमा गरेको सम्बोधनलाई लिएर केहीले अफवाह फैलाएको भन्दै ओलीले आफूले लोकतन्त्र बलियो पार्ने र देश बनाउने आन्दोलन गर्ने भनेको बताउनुभयो । तर, केहीले ढुंगामुढा र नाराजुलुश गर्ने आन्दोलनका रूपमा अफवाह फैलाइएको प्रष्ट्याउनुभयो ।

भागबण्डाको राजनीति र अस्थिरताको खेल शुरू गर्न पाइन्छ भनेर केही व्यक्ति संसद पुनस्र्थापनाको खेलमा लागेको प्रधानमन्त्री ओलीले बताउनुभयो । देश निर्वाचनमय भइसकेको उहाँको दाबी छ ।

भागरथी भट्टको हत्यामा संलग्नलाई चाँडै पक्राउ गरेर प्रहरीले देखाएको बहादुरीप्रति प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको थियो । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तको हत्यारालाई पनि चाँडै कानुनी दायरामा ल्याइने प्रधानमन्त्रीको भनाइ छ ।

सरकार विकासप्रति प्रतिबद्ध भएको बताउँदै प्रधानमन्त्री ओलीले अस्थीरता निम्त्याउने तत्वलाई साथ दिन नसकिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्