देउवा पौडेल एकजुट


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

काठमाडौं । नेपाली कांग्रेस यतिबेला संसद पुनस्र्थापनाको सवालमा दुई ध्रुवमा विभाजित भएको छ । सभापति शेरबहादुर देउवा निर्वाचनका तयारीमा जुट्न भन्दै नेता कार्यकर्ताहरुलाई ह्वीप जारी गरिरहेका छन् ।

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल ‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा उभिएका छन् । अहिले नेपाली कांग्रेस सशक्त रुपमा सडकमा आए सरकारलाई दबाब हुने देखिन्छ ।

यसै विषयमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल एक ठाउँमा उभिए संसद पुनर्स्थापना भएर संविधान पनि जोगिने र ६ महिनाभित्र चुनाव पनि हुनसक्ने बताएका छन् ।

५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधनिक र अलोकतान्त्रिक कदम भनेको छ । तर सभापति देउवा चुनावको पक्षमा देखिएका छन् भने वरिष्ठ नेता पौडेलले संसद पुनस्र्थापना हुनुपर्ने मत राख्दै आएका छन् ।

सोमबार पार्टीका युवा नेताहरुसँग भएको छलफलमा नेता रिजालले देश चुनावमा गइसकेको बताए । पहिलो संविधानसभा भंग भएपछि बाधा अड्काउ फुकाउमार्फत प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनु परेको चर्चा गर्दै कांग्रेस नेता रिजालले अहिले कतिपयमा त्यस्ता लोभ पनि देखिन थालेको बताए ।

‘वरिष्ठ नेताले भनेको ठाउँ (संसद पुनर्स्थापना) बाट सुरु गरेर सभापतिले भनेको ठाउँ (चुनाव) मा पनि पुग्न सकिन्छ’ उनले अघि भने– सभापति र वरिष्ठ नेता एक ठाउँमा उभिने हो भने संसद पुनस्र्थापना गर्ने, संविधान जोगाउने, तर ६ महिनापछि चुनाव गरौं भन्यो भने कसैले रोक्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्