मेलम्चीको पानी काठमाडौंमा


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

काठमाडौं । सरकारले आफ्नै पालामा मेलम्चीको पानी काठमाडौं ल्याउने रणनीतिका साथ आजबाट परीक्षण हुँदैछ ।

मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण हुन लागेको हो । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ ।

तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय गरिएको छ ।

मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो ।

आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो ।

मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ ।

पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्