सरकार र विप्लवबीचको वार्ता सकारात्मक


ओकेजनता डेस्क
९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग आफ्नै नेतृत्वमा वार्ता गरिरहेको खुलेको छ ।

ओली पक्षका एक नेताका अनुसार वार्ता सकारात्मक ढंगले अगाडि बढिरहेको छ । वार्तालाई सही दिशामा पुर्याएपछि मात्रै आधिकारिक विषय बाहिर ल्याउने ती नेताले बताए ।

केही समयअघि मात्रै नख्खु कारागारमा रहेका विप्लव नेता ओमप्रकाश शर्मालाई ओली सरकारका मन्त्री मणि थापाले भेटेका थिए । सरकार र विप्लव नेतृत्वको नेकपाबीच अनौपचारिक वार्ता जारी रहेको छ ।

स्रोतका अनुसार विप्लवको वार्ता टोलीका सदस्य र सरकारका प्रतिनिधिबीच केही दिनयता भइरहेको वार्तापछि विप्लवले शनिबार वार्तामा बस्न सकारात्मक रहेको वक्तव्य जारी गरेका हुन् । वार्ता प्रगतिमा रहे पनि ठोस परिणाम देखिएपछिमात्रै सार्वजनिक गर्ने तयारी दुवै पक्षको छ । उनका अनुसार विप्लवसँग पनि सम्पर्क भइरहेको छ ।

विशेषगरी प्रचण्ड पक्षले वातावरण बिगार्नका लागि चलखेल गर्न सक्ने भएकाले देखिने र जनतालाई बुझाउने खालको वातावरण बनेपछिमात्र आधिकारिक कुरा बाहिर ल्याउन चाहेको ती मन्त्रीले बताए । यसको संकेत प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गरेका छन् ।

आइतवार दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विप्लवलाई प्रयोग गरेर अस्थिरता र हिंसा मच्चाउन खोज्नेहरू वार्तामा आउने कुराले डराएको टिप्पणी गरे ।

विप्लव पक्षसँग सावधानीपूर्वक संवाद चलिरहेको र हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा समाहित हुने सहमति भएमा प्रतिबन्ध फुकुवा गरेर वार्ता हुने ती मन्त्रीले बताए ।

त्यसका लागि सरकारले पनि वार्ता टोली गठन गर्नेछ । विप्लव समूहले यसअघि नै खड्गवहादुर विश्वकर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ । आज भोलिमै अनौपचारिक सहमति भएपछि हाल प्रहरी हिरासतमा रहेका विप्लवपछिको दोस्रो नेता धर्मेन्द्र बास्तोलालाई प्रक्रिया पूरा गरेर रिहा गरिने भएको छ ।

विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले केपी ओली जतिको शक्तिशाली प्रधानमन्त्रीकै पालामा आफ्ना माग पूरा गराउन सकिने नत्र अरुले नसक्ने निष्कर्षमा सो पार्टी छ ।

प्रचण्ड र विप्लवबीच वार्ता गराउने प्रयास पनि यसबीचमा भएको तर उनले सरकारसँगै वार्ता गरेर प्रतिबन्ध फुकुवा गराउन चाहेको ती नेताले बताए ।

ओली पनि विप्लवलाई समेत शान्तिपूर्ण राजनीतिमा ल्याएर सिके राउतदेखि विप्लवसम्मको सेफ ल्याण्डिङको जस लिएर चुनावमा जाने दाउमा छन् ।

प्रतिक्रिया दिनुहोस्