‘प्रचण्ड वैद्य, डाक्टर हुँदै झाँक्रीको शरणमा पुग्नुभो, अब झाँक्रीले पनि बचाउन सक्दैन’


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अझै फर्किन आग्रह गरेका छन् । सँगै मिलेर जान मार्ग प्रशस्त रहेको भन्दै ओलीले अन्तिम पटक आग्रह गर्छु प्रचण्डजी फर्किनुहोस् ।

नफर्किएपछि भीरबाट लडेको गोरुलाई काँध हाल्न सकिन्न भन्दै ओलीले प्रचण्डलाई यहाँसम्म आफैले पुर्याएको दाबी गरे । चौथो दल बन्न लागेका प्रचण्डलाई काँध हालेर आफैले पहिलो पार्टीको अध्यक्ष बनाएको ओलीको दाबी थियो ।

ओलीले एक फरक प्रसंगमा भने, ‘प्रचण्डजीले शुरुमा मोहन वैद्यको सहारा लिनुभयो, त्यस्तै बाबुराम भट्टराईको सहारा लिनुभयो अहिले रामकुमारी झाँक्रीको सहारामा हुनुहुन्छ ।’

यता, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकलाई भित्री र बाह्य अराजक शक्तिले संकटमा पार्न खोजेको आरोप लगाएका छन् । अहिले मुलुक असामान्य परिस्थितिबाट अगाडि बढिरहेको उनको भनाइ छ ।

बादलले भने, ‘यतिबेला प्रतिनिधि सभा विघटन भएको छ, देशमा अस्थीरता ल्याउन आन्तरिक र बाह्य शक्ति लागेको छ । हाम्रै पंक्तिभित्र लुकेका अवसरवादी, गुटवादी र पद लोलुपहरुले यो परिस्थिति निम्त्याएका हुन् । देशलाई अस्थीरता तर्फ धकेलेर कसरी प्रतिगामी बन्ने भन्नेहरुले आज मुलुकमा संकट निम्त्याएको छ ।’

पार्टीको शुद्धिकरणका लागि पनि आज अभियान चाल्नुपर्ने देखिएको बादलको भनाइ छ । पार्टीभित्र धमिराको संख्या धेरै भएकोले गति लिन नसकेकोप्रति बादलको चिन्ता छ । उत्पन्न समस्याको समाधान षडयन्त्रबाट नभइ लोकतान्त्रिक विधिबाट गर्नुपर्ने बादलको भनाइ छ । जनताको बीचमा गएर कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्न सकिने बादलले बताए ।

विराटनगरमा ओली पक्षले आयोजना गरेको जनसभामा बोल्दै बादलले एकता अभियानबाट विचलित भएर गुटवादीहरुले भ्रम छरिरहेको भन्दै त्यसमा नफस्न नेता कार्यकर्तालाई आग्रह गरे ।

बादलले भने, ‘केही व्याक्तिहरुले ओली सरकारबाट तीनजना मन्त्री बाहिरिँदै भन्ने समाचार प्रसारण भएको पाएँ, यसमा सत्यता छैन । जस्केलाबाट सरकारको नेतृत्व हत्याउन खोज्नेहरु आफू विलिन हुँदै गएपछि अफवाह फैलाउँदै छन् ।’

नेकपा दाहाल–नेपाल पक्षले गोयबल्स नीति अपनाएर झुटको साहारा लिएको बादलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्