सूर्य थापाको भनाइले नेकपाका फेरि तरंग (भनाइसहित)


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहानै सामाजिक सञ्जालमा एक स्टयाटस पोष्ट्याए । जसमा प्रदेश नम्बर २ का प्रदेश प्रमुखको नियुक्ति र सपथको विषयलाई उठाइएको छ ।

उनले भनेका छन्, ‘अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्या बाहेक पूर्वजानकारी गराएर बैठक उपस्थित नहुन सकिएला तर, उपराष्ट्रपति र सभामुखको पदीय मर्यादा बिर्सन मिल्दैन् ।

थापाले प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम बैठकमा समाभुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी नभएको विषयमा रोष प्रकट गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य)मा हिड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।’

प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा प्रदेश नम्बर दुईका प्रदेश प्रमुखलाई हटाइएको प्रति कांग्रेसले समेत विरोध जनाइसकेको छ ।

थापाका अनुसार पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता पूर्वहरूको बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो । बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्सकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो !

उनले भनेका छन्, ‘गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहनेर टाँस्सिइरहने ?’

प्रधानमन्त्रीका सल्लाहकार थापाले प्रधानमन्त्रीको बैठकमा आउन अटेर गर्ने हो भने पदबाट राजीनामा दिन भनेका छन् ।

त्यस्तै थापाले, ‘सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयोजना गरिरहने यो के रवैया हो ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ?’

उनले अन्तमा भनेका छन्, ‘पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू !’

प्रतिक्रिया दिनुहोस्