प्रदेश सरकार अभिभावक बनेपछि पलाउँदै पीडितको आशा…


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले अछामको रामारोशनका बाढी प्रभावितहरुको पुनस्र्थापनामा जोड दिएको छ । बाढीका कारण क्षति भएका भौतिक पूर्वाधार र जनधनको क्षतिप्रति सरकार गम्भीर भएर विकास निर्माणमा जुटेको छ । अहिले सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा र भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बाढी प्रभावित क्षेत्रका जनतासँग प्रत्यक्ष्य साक्षात्कार गरिरहनुभएको छ ।

बाढीका कारण रामारोशन गाउँपालिकाको सैनीबजार लगायतका क्षेत्र तहसनहस भएका छन् । सडक बगाएको छ भने भौतिक संरचना ध्वस्त भएका छन् । अहिले सोही ठाउँको सडक निर्माणमा ध्यान केन्द्रीत गरिने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले जानकारी दिनुभयो । उहाँले सोमबार मात्रै सडक बिस्तारका लागि सरोकारवाला पक्षसँग छलफल गर्नुभएको छ ।

यसअघि पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतको टोलीले विपद् क्षेत्रमा पुगेर राहत वितरण गर्नुभएको थियो भने आर्थिक मामिला तथा योजना मन्त्री बोहराले लामो समय बाढी प्रभावित क्षेत्रका जनताको घाउमा मल्हम लगाउने प्रयत्न गर्नुभएको थियो । बोहरा प्रभावित क्षेत्रको अनुगमन गरी एकसाता पछि कैलाली फर्केर विपद् न्युनिकरणको दीर्घकालीन उपायबारे अध्ययनमा लाग्नुभएको थियो । रामारोशन भएर बग्ने कैलाश खोलाले सो क्षेत्रलाई पछि पनि असर पार्न सक्ने भन्दै त्यसका लागि उचित विकल्प र भौगर्भिक अध्ययनमा प्रदेश सरकार लागेको छ ।

यसवर्ष सिन्धुपाल्चोकपछिको ठूलो विपद् अछामको रामारोशन बासीले व्यहोर्नुपरेको छ । रामारोशन क्षेत्रका बासिन्दाको मानस्पटलबाट अहिले पनि बाढीको त्राहीमाम हट्न सकेको छैन । प्रदेश सरकारको सक्रियताका कारण भने रामारोशनबासीले पीडा भुल्ने प्रयास गरिरहेका छन् । खोलाको किनारमा भएका बस्ती, बजारलाई दीर्घकालीन समस्याको पहिचान गरी वर्तमानमा परिस्कृत योजना अगाडि बढाउनुपर्ने सुदूरपश्चिम सरकारको काँधमा जिम्मेवारी थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्