काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)ले निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता नदिए सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
पेरिसडाँडामा शुक्रबार आकस्मिक बसेको नेकपा (दाहाल–नेपाल) केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले बहुमतका आधारमा पनि निर्णय गर्न नसके चुप लागेर नबस्ने जनाएको छ ।
केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालयमा उपस्थित हुन भनेको दाहाल–नेपाल पक्षले सशक्त आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ ।
पार्टीको विधान अनुसार बहुमत केन्द्रीय कमिटीको निर्णय नै आधिकारिक हुने भएपनि निर्वाचन आयोगले आलटाल गरिरहेको दाहाल–नेपाल पक्षको निष्कर्ष छ । आयोगलाई छिट्टै निर्णय गर्न पनि दाहाल–नेपाल पक्षले दबाब दिने भएको छ ।
यतिबेला निर्वाचन आयोगले नेकपाको पुस ५ पछाडिका सबै निर्णयलाई बदर गरिदिएको छ । आयोगले दुवै पार्टीलाई पुनर्मिलनका लागि मार्ग प्रशस्त गरेपनि त्यो हुन सकेन ।
ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर जनता कार्यकर्तालाई भ्रमित पार्न खोजिरहेको दाहाल–नेपाल पक्षको भनाइ छ । बैठकमा सातै प्रदेशका इन्चार्जहरुले अहिलेको पार्टी अवस्थाबारे रिपोर्टिङ गरेको छन् ।