विप्लव नेता केसी र भुसाल पक्राउ, चारदलीय समूहद्वारा रिहाइको माग गर्दै विज्ञप्ति


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्धिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई वार्तामा ल्याएर अगाडि बढ्ने बताइरहेका बेला उनीहरुका नेता कार्यकर्ता अझै सरकारले गिरफ्तार गरिरहेको छ ।

प्रतिबन्धित समूह विप्लवका दुई नेतालाई प्रहरीले पुनः पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेताद्वय देवबहादुर केसी र भेषराज भुसाल रहेका छन् । बिहीबार बुटवलमा आयोजित चार दलको भेलामा सहभागी भएका उनीहरु पक्राउ परेका हुन् ।

सरकारको प्रतिगमनकारी भूमिकाका विरुद्ध उभिएका नेतालाई बिना कारण पक्राउ गरिएको भन्दै अविलम्ब रिहाइको माग गरिएको छ । चारदलीय मोर्चाले ती नेताका छिट्टै रिहाइ गर्न सरकारलाई भनेको छ ।

चारदलीय मोर्चाका नेता ऋषिराम कट्टेल र रामसिंह श्रीसले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मानवअधिकारको रक्षा गर्दै सरकारले दुई नेताको रिहा गर्नुपर्ने बताइएको छ ।
शान्तिपूर्ण सभामा सहभागी नेतालाई पक्राउ गरेर सरकारले तानाशाही रवैया देखाएको उनीहरुको आरोप छ । पछिल्लो समय सरकारले विप्लवका नेता कार्यकर्ता देख्नेबित्तिकै पक्राउ गरिरहेको छ ।

सरकारले एकातर्फ वार्ताको नाटक गर्ने अर्को तर्फ पक्राउ गर्ने नीति लिएको भन्दै विप्लव समूह शसंकीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्