ओलीलाई दबाब दिन दाहाल–नेपाल पक्षको नयाँ रणनीति, ‘नागरिकता लिएर हाजिर हुनुहोस् !’


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्ष आज निर्वाचन आयोग जाने भएको छ । आयोगले आफूहरुलाई आधिकारिकता प्रदान गर्न आनाकानी गरेको भन्दै दाहाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरु नागरिकता बोकेर आयोग जान लागेका हुन् ।

आफूहरुको बहुमत दाबी गरेको दाहाल–नेपाल पक्षले आज निर्वाचन आयोगलाई पनि पुष्टि गर्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा जम्मा भएर आयोग जाने कार्यक्रम रहेको दाहाल–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘सबै केन्द्रीय सदस्यहरुलाई दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा जम्मा हुन भनिएको छ, बहुमतको हुर्मत लिएर जनताको आँखामा छारो हाल्ने शासकका विरुद्ध आज निर्वाचन आयोग जाँदैछौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएकोले प्रतिनिधि सभा विघटन गर्ने अधिकार सुरक्षित गरेको दाबी गर्दै आएका छन् । उनी अहिले नेकपा विभाजित हुँदा निकै कमजोर बनेपनि स्वीकार गर्न तयार छैनन् ।

नेकपाका ४४१ जना केन्द्रीय सदस्यमध्ये ३०० भन्दा बढी दाहाल–नेपाल पक्षमा रहेको उनीहरुको दाबी छ । बाँकी केन्द्रीय सदस्य ओली, बामदेव र बादल पक्षमा विभाजित छन् ।

 

प्रतिक्रिया दिनुहोस्