भागरथी र दिनेशका परिवारबीच यस्तो मनमुटाव, आमा भन्छिन्– दिनेश दिउँसै आएको थियो…


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । बैतडीकी भागरथी भट्टको हत्यापछि हत्या आरोपी दिनेश भट्ट र उनको परिवारमा ३०/३५ वर्ष अगाडिदेखि मनमुटाव भएको प्रहरीले सार्वजनिक गर्यो ।

दिनेशले आफ्नो बयानमा भागरथीका बुवाले आफ्नो परिवारका सदस्यमाथि गरेको यौन दुव्र्यवहारको बदला लिएको स्वीकारेका प्रहरी दाबी छ । जतिबेला घटना भएको थियो त्यो समयमा न भागरथी जन्मेकी थिइन् न त दिनेश नै । ३५ वर्ष अगाडिको कुरालाई लिएर दिनेशले भागरथीको हत्या गरेको होला भन्नेमा भागरथीकै आमा पनि विश्वस्त छैनन् ।

दिनेश अहिले १५ वर्ष पूरा गरेर १६ वर्षमा दौडिरहेका छन् । भागरथी १७ वर्षकी थिइन् । १६ वर्षका दिनेशले ३५ वर्ष अगाडिको कुरालाई लिएर हत्या गर्ने मनसाय कसरी गरे बनाए भन्नेमा गाउँले पनि चकित बनेका छन् ।

स्थानीयका अनुसार ३०/३५ वर्ष पहिले भागरथीका बुवाले दिनेशको परिवारकी एक महिलालाई यौन दुव्र्यवहार गरी जेल सजाय पनि काटिसकेका थिए । भागरथीकी आमालाई दिनेशले आफूले नै हत्या गरेका बताइसकेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका दिनेशले भागरथीकी आमा र काकालाई आफूले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । भागरथीका काकाले पनि दिनेशले आफूहरुसँग हत्या गरेको स्वीकारेको बताएका छन् ।

भागरथीका आफन्त र परिवारले भने शव बुझ्न मानेका छैनन् । हत्या दिनेशले नै गरेको भएपनि बलात्कार कसले गरेको हो भन्ने प्रश्न परिवारको छ । बलात्कारी पत्ता नलागुञ्जेल शव नबुझ्ने भागरथीका आफन्तको भनाइ छ ।

यसअघि जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टमा पनि भागरथीको बलात्कारपछि हत्या भएको प्रमाणित भएको थियो । भागरथीकी आमाले भागरथी हराएको दिन दिनेश दिउँसो नै घर आएको बताएकी छन् ।

भागरथीकी आमाले दिनेशलाई छोरी देखे नदेखेको बारे सोधेकी थिइन् तर दिनेशले नदेखेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्