सरकारले सुरक्षा कटौती गरेसँगै यी हुन् प्रचण्ड सुरक्षाका कमाण्डर


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । सरकारले भारी मात्रामा पूर्व भीआइपी र भीभीआइपीको सुरक्षमा कटौती गरेसँगै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी सुरक्षा थपेका छन् ।

सुरक्षा थ्रेट रहेको भन्दै प्रचण्डले पूर्व जनमुक्ति सेनाका कमाण्डरको नेतृत्वमा आफ्नो सुरक्षा घेरा बलियो पारेका हुन् । यसअघि प्रचण्डको सुरक्षामा अघि र पछि जनपथ र सशस्त्र प्रहरीको गाडीले सुरक्षा दिने गरेको थियो ।

सुरक्षाकर्मीको संख्या कटौती भएसँगै सरकारले दाहाललाई दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली खटाएको छ ।

यतिले मात्रै सुरक्षामा खलल हुने र सुरक्षा थ्रेट हुने भन्दै केही पूर्व जनमुक्ति सेनाहरु खटाएको दाहाल–नेपाल पक्षका राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

१० जनाको टोली प्रचण्डको गाडीभन्दा अघि हिँड्ने गरेको उनले बताए । यो टोलीसँग हातहतियार छैन । उनका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’को नेतृत्वमा खटिएको छ ।

सुरक्षा स्रोतका अनुसार सशस्त्र प्रहरीले निरीक्षकसहित ४७ जना दाहालको सुरक्षामा खटाइएको थियो । गृह मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख छ ।

सुरक्षा स्रोतका अनुसार सशस्त्र प्रहरीबाट प्रचण्डको सुरक्षामा १६ र नेपाल प्रहरीबाट दुई जनाबाहेक सबै सुरक्षाकर्मी फिर्ता गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्