आफन्तले अझै किन बुझेनन् भागरथीको शव ? यस्तो छ कारण.


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । बैतडीकी भागरथी भट्टको हत्याका संलग्न भएको आरोपमा उनकै भाई नाता पर्ने दिनेश भट्टलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तर, भागरथीका आफन्त र गाउँलेले उनको बलात्कारपछि हत्या भएको रिपोर्ट चिकित्सकले सार्वजनिक गरेपछि शव बुझ्न मानेका छैनन् ।

गाउँले र आफन्तले भागरथीको बलात्कारी को हो ? भन्दै पत्ता लगाउन प्रहरीलाई गुहारेका छन् । स्थानीय मनोरथ भट्टका अनुसार भागरथीको बलात्कार भएको भन्दै विश्वमा चर्चा भइसकेको छ । तर, बलात्कारी किन समातिएन ।

उनले भने, ‘हाम्री छोरीको बलात्कार भएको प्रमाणित भइसकेपछि पनि प्रहरीले बलात्कारीलाई किन पक्राउ गर्न सकेन । आखिर भागरथीको बलात्कार कसले गरेको हो ?’

‘हत्यारा सार्वजनिक भएपनि बलात्कारीलाई प्रहरीले खोजी नगर्नु शंकाको विषय छ, हामी बलात्कारी पत्ता नलागुञ्जेल शव बुझ्दैनौ, भट्टले भने ।’

  • केही स्थानीयहरु १६ वर्षीय दिनेशले भागरथीको हत्या गर्न नसक्ने भन्दै सशंकित भएका छन् । स्थानीय भुवन काकी भन्छन्, ‘१६ वर्षको केटाले कसरी भागरथीको हत्या गर्न सक्छ ? यसमा अझै अनुसन्धानको दायरा बढाउनुपर्छ ।’ परिवारका सदस्यहरु पनि दिनेशको घटनामा संलग्नता देखिएपछि अचम्मित परेका छन् ।

यतिबेला बैतडीको दोगडाकेदार गाउँपालिका स्तब्ध बनेको छ । गाउँलेहरु त्रसित भएका छन् । स्थानीय सनातन धर्म माविमा अध्ययनरत छात्राहरुको मन अझै थामिएको छैन । दिनेश नै हत्याको आरोपी भन्दै प्रहरीले सार्वजनिक गरेपछि उनीहरुपनि शंकामै छन् ।

यता, प्रहरीले सबै प्रमाण र कल डिटेलका आधारमा दिनेशलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीमाथि शंका नगर्न र अनुसन्धानमा साथ दिन सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले सबैलाई आग्रह गरेका छन् ।

अहिले दिनेश भट्ट १५ वर्ष पूरा गरी १६ मा दौडिरहेका छन् । उनको हत्यामा संलग्नता प्रमाणित भएपछि र अभियुक्त साबित भएपछि १ वर्ष सुधार केन्द्र बस्नेछन् । १८ पूरा भएपछि मात्रै उनलाई कारागार पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्