सिद्धबाबाविरुद्ध पुनरावेदन जाने सरकारी वकिल कार्यालयको तयारी


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । जिल्ला अदालत सुनसरीबाट बलात्कार आरोपमा सफाइ पाएका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । सरकारी वकिलको कार्यालय जिल्ला अदालत सुनसरीको फैसलाको पूर्णपाठ पर्खिरहेको थियो ।

सफाइ पाउने फैसला भएको दुई महिनापछि बिहीबार पूर्ण पाठ आएको हो । पूर्ण पाठ आएपछि जिल्ला सरकारी वकिलको कार्यालयले फैसलाको पुनरावेदनका लागि उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्ने तयारी गरेको हो ।

पुनरावेदन गर्ने समय भएकाले फैसलाको अध्ययनपछि निर्णय गरिने जिल्ला न्यायाधिवक्ता नारायण रिमालले बताए । त्रि–दण्ड धारण गरेकाले आफू स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु गिरीले महिलाले शरीर समर्पण गरेपछि करणी गरेको तर्कसहित न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार नठहर्ने फैसला सुनाएको थियो ।

महिलाको चरित्रमाथि प्रश्न उठाएको अदालतको फैसलामा भनिएको छ, ‘जाहेरवाली र प्रतिवादी बीच आदान प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दावीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्