काठमाडौं । बैतडीकी भागरथी भट्ट हत्या आरोपमा आज सार्वजनिक गरिएका दिनेश भट्ट १५ पूरा भइ १६ वर्षमा दौडिरहेका छन् । विद्यालयमा रहेको उनको जन्ममिति २०६१ फागुन १० गते रहेको छ ।
अधिवक्ता दिनेश त्रिपाठीका अनुसार अहिलेको अवस्थामा हत्या गरेको प्रमाणित भएमा उनलाई एकवर्ष बालसुधार गृहमा राख्नुपर्ने हुन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४१ मा जबरजस्तीकरणी गरी ज्यान मारेको घटनालाई जघन्य अपराध मानिएको छ ।
त्यहाँ अपराधमा संलग्न व्यक्तिलाई जन्मकैदको सजाय हुने उल्लेख गरिएको छ ।
तर कसुर गरेको व्यक्ति बालिग नभएको वा १८ वर्ष नपुगेको अवस्थामा भने सजाय कम हुने व्यवस्था छ ।
यस ऐनको दफा ४५ मा बालबालिकालाई हुने सजायबारे उल्लेख छ ।
यस दफाको उपदफा ३ मा कसुर गरेको व्यक्ति १६ वर्षभन्दा कम भए कुल सजायको आधार र १६ वर्षभन्दा माथि १८ वर्षभन्दा कम भए कुल सजायको दुइतिहाई हुने उल्लेख छ ।
दिनेश उनको परिवारमा जेठा छोरा हुन् । भारतमा मजदुरी गरेर खाने उनको परिवार लकडाउनपछि झनै समस्यामा परेको छ । उनका बुवा गाउँमै सामान्य मजदूरी गर्छन् ।
घरमा भएका दुई बहिनी र एक भाई सुस्त मनस्थितिका छन् । उनी नै परिवारका भरोसायोग्य थिए । विद्यालयमा पनि उनका क्रियाकलाप धेरै उश्रृङ्खल नरहेको शिक्षकको भनाइ छ ।
यतिबेला दिनेशको परिवारमा पनि सान्नाटा छाएको छ ।