कुकुर ल्याइएपछि गोठालो गए दिनेश, यसरी प्रहरी निगरानीमा थियो…


ओकेजनता डेस्क
५ फाल्गुन २०७७, बुधबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ मा भएको भागरथी भट्ट हत्याको अनुसन्धानमा आफूनै सरिक भएर लागे । उनलाई चुनौति थियो निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा प्रहरीले गुमाएको साख जोगाउने ।

डिआइजी सुवेदीको डेरा लामो समय जिल्ला प्रहरी कार्यालय बैतडीमा भयो । उनी घटनामा संलग्न अभियुक्तलाई पत्ता लगाएर सबैका सामू चुनौतिको पटाक्षेप गर्न चाहान्थे । बुधबार मात्रै उनलाई त्यो सफलता मिलेको छ । प्रहरीले भागरथीको हत्याका संलग्नको आरोपमा दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिनेश स्वयंले अपराध स्वीकार गरिसकेको अवस्थामा उनलाई सार्वजनिक गरिएको हो ।

सो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार दिनेश नै अभियुक्त हो भन्नेमा मुख्य तीन आधार देखिएको छ । अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसन लगायत प्राविधिक प्रमाणका आधारमा दिनेश नै उक्त घटनामा संलग्न रहेको निष्कर्षमा पुगिएको ती प्रहरी अधिकृतले बताए ।

आरोपी दिनेश भट्ट भागरथी हत्याको विरोधमा निकालिएको र्यालीमा पनि सहभागी भएका थिए । त्यसमा प्रहरीले निगरानी गरिरहेको थियो । उनी भागरथी हत्याको केही दिनपछि गोेठालो पनि गएका थिए । कुकुर आउने थाहा पाएपछि उनी गोठालो गएको प्रहरी निष्कर्ष छ ।

उनको मोबाइलको कल डिटेल, विद्यालयबाट एक घण्टी छोडेर लवलेक जंगलमा आएको पनि प्रहरीले पत्ता लगाएको छ । हत्यापछि दिनेशको हाउभाउ पनि फरक देखिन्थ्यो । प्रहरीका अनुसार उनको शरिरमा केही घाउचोट पनि छ । पारिवारिक रिसिइबीका कारण हत्या गरेको दिनेशले स्वीकारेको प्रहरीले बताएको छ ।

भागरथी हत्याको १३ दिनसम्म प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरी विभिन्न संदिग्धसँग बयान लिनुका साथै घटनास्थल आसपासका कैयौँ स्थानीयबासीसँग घटना भएको दिन र समयको सेरोफेरोमा भएका गतिविधिबारे सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले केही व्यक्तिलाई आफ्नो राडारमा राखेको थियो । परिस्थितिजन्य प्रमाण, लोकेसन, आसपासका मानिहरुको भनाइ लगायतका ‘क्लु’ का आधारमा प्रहरीले करिब एक सातादेखि अनुसन्धानको दायरालाई सीमित व्यक्तिमा केन्द्रित गर्दै आएको थियो ।

सोही क्रममा प्रहरीले दिनेशसँग समेत पटक पटक सोधपुछ गरेको थियो । मंगलबार अबेर सोधपुछका क्रममै दिनेशले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । दिनेश र भागरथी एउटै विद्यालयमा अलग अलग कक्षामा पढ्दथे । उनीहरु एकै गाउँ निवासी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्