सनसनीपूर्ण खुलासा : दिनेशले बलात्कार नस्वीकार्नुको कारण यस्तो रहेछ…


ओकेजनता डेस्क
५ फाल्गुन २०७७, बुधबार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ०७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलाएको थियो । भागरथीको भेजाइलन स्वाब ल्याब टेस्टका लागि काठमाडौं ल्याइएको थियो । अहिले हत्यामा संलग्न भएको स्वीकार गरेका दिनेश भट्टले बलात्कार गरेको कुरालाई स्वीकार गरिसकेका छैनन् ।

प्रहरीका अनुसार भागरथीलाई लवलेकको जंगलमा एक्लै भेट्टाएपछि दिनेशले पछाडिबाट धक्का दिएका थिए । भागरथी सडकबाट करिब ७० मिटर तल झाडीमा खसेकी थिइन् । त्यसपछि दिनेशले उनको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । घरायसी रिसिइबी साध्न आफूले हत्या गरेको दिनेशले स्वीकारेको प्रहरीको दाबी छ ।

प्रहरीको असअघिको अनुसन्धानले बलात्कारपछि हत्या भएको प्रमाणित गरिसकेको छ । आखिर किन दिनेशले आफूले बलात्कार गरेको स्वीकार गरेनन् भन्ने विषयमा कानून व्यवसायीसँग ओकेजनता डटकमले बुझेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार सबैभन्दा पहिले घटनाको यर्थाथता बुझ्नु पर्दछ । हत्या भइसकेको अवस्थामा यो जघन्य अपराध भएको छ । नेपालको कानून अनुसार त्यस्तो व्यक्तिलाई आजीवन कैदको सजाय हुने भनिएको छ । यदि हत्यारा नाबालक भएको खण्डमा त्यसलाई सुधार केन्द्र राख्नुपर्ने व्यवस्था छ ।

हत्या स्वीकार गरेको व्यक्तिले हाडनाता सम्बन्धि कसुर जोडिने डरले पनि बलात्कार स्वीकार नगरेको हो त भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्, ‘जघन्य अपराध हत्या नै भइसकेको छ, त्यसमा बलात्कारपछि हत्या भएको भए नाता पर्ने छन् भने हाडनाताको मुद्धा जोडिन्छ । नेपालमा मृत्युदण्डको सजाय नभएकोले त्यस्ता व्यक्तिलाई अदालतले नमरुञ्जेलसम्म नै कैदको सजाय गर्न सक्छ ।’

त्रिपाठी थप्छन्, ‘अहिले घटनाको प्रारम्भिक चरणमा प्रहरी गएको छ, भोलि उसलाई कुनै दबाब वा अन्य प्रलोभनमा पारी हत्या स्वीकार गराएको हो भने उसको अदालतको बयानमा बाझिन सक्छ । अदालतमा उसले दिने बयान के हुन्छ त्यसले पनि धेरै कुरा निर्धारण गर्छ ।’

घटनास्थलमा यतिबेला सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी आफै खटेका छन् । त्यहाँ काठमाडौंबाट अनुसन्धानका लागि प्रहरी पुगेको छ । प्रहरीले सबै प्रमाण र सबुतका आधारमा अभियुक्तलाई सार्वजनिक गरिरहेको जनाएको छ ।

त्यहाँका केही स्थानीयले दिनेशलाई दबाबमा पारेको भन्दै विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्