भागरथीका हत्यारा भट्टै थरका विद्यार्थी, प्रहरीले आज सार्वजनिक गर्दै


ओकेजनता डेस्क
५ फाल्गुन २०७७, बुधबार

काठमाडौं । भागरथी भट्ट हत्या प्रकरणमा प्रहरीलाई सफलता मिलेको छ । कक्षा ११ मा पढ्ने छात्रले उनको बलात्कारपछि हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भट्टलाई ती व्यक्तिले बुधबार नै हत्या गरेको स्विकारे । दिनेश भट्ट नाम गरेका व्यक्तिलाई आज सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

ती युवा पनि स्थानीय सनातन धर्म माविमै अध्ययन गर्दथे । माघ २१ ग्ते बुधबार ९ बजे घरबाट हिडेकी भागरथी बिहीबार साँझ लवलेक जंगलमा मृत फेला परेकी थिइन् । २१ गते साँझसम्म छोरी घरमा नआएपछि उनकी आमाले गाउँलेलाई गुहारेकी थिइन् ।

सोही दिन भागरथीलाई खोज्न समस्या थियो । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो ।

यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्