काठमाडौं । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोरोना विरुद्धको खोप कोभिसिल्ड किन्ने बाटो खुला गरेको छ ।
प्रति भ्याक्सिन ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड भ्याक्सिन भारतसँग खरिद गर्ने बाटो खुलेको हो ।
भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।
मन्त्रिपरिषद्ले यो निर्णयले खोप खरिद गर्ने बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
अहिलेसम्म खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सक्ने कानूनी प्रावधान रहे पनि सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो ।
यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्यमन्त्री त्रिपाठीले बताए ।