मास्कबारे रोचक तथ्य, कहिलेबाट प्रयोगमा आयो ?


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । मास्क लगाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने वास्तविक मिति अहिलेसम्म भएका कुनै पनि अध्ययनहरुले बताउन सकेका छैनन् । तथापी, मानवजातिले मास्कको प्रयोग प्राचिन युगदेखि नै गर्दै आएको भेटिन्छ ।


प्राचिन समयमा विश्वका सबै क्षेत्रतिरका मानिसहरु धार्मिक तथा सांस्कृतिक प्रयोजन, शिकार खेल्ने प्रयोजन, खेलकुद तथा युद्ध जस्ता गतिविधिहरुमा मास्क लगाउने गर्दथे । पोलिस सर्जन जन मिकुलिक्ज रेडेक्किले सन् १८९७ मा गरेको व्याख्याअनुसार मानव स्वास्थ्यलाई मध्यनजर गरेर मास्क लगाउने चलनको सुरुवात सन् १८९० को दशक तिरबाट सुरु भएको देखिन्छ ।


अहिले आएर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९, (कोरोना भाइरस)का कारण मास्क, यसको प्रकार अनि प्रयोगका बारेमा आम मनिसमा चासो अझ बढेको छ। यहाँ हामी आम मनिसहरुको यस्ता जिज्ञासा मेटाउने प्रयासमा जुटेका छौं ।


सर्जिकल मास्क
चिकित्सा विज्ञानमा मास्क लगाउने चलनको विकास सन् १८९० को दशक तिरबाटै सुरुआत भएको थियो । तात्कालीन समयमा स्वास्थ्यकर्मीहरुले मास्क शल्यक्रिया गर्ने क्रममा तथा नर्सिङ सेवा प्रदान गर्ने क्रममा सुक्ष्म जिवाणु तथा मसिना थुकका छिटा मास्क लगाउने व्यक्तिको नाक मुखबाट बाहिर जान छेक्ने उद्येश्यका साथ लगाउने गर्दथे। सोही कारण यस्तो मास्कलाई सर्जिकल मास्क भनेर नामाकरण गरीएको हो ।

यसलाई कतैकतै फेस मास्क पनि भन्ने गरिन्छ। उक्त समयमा कपडाबाट बनेको एक तहको पत्र भएको मास्क नै चिकित्सा क्षेत्रमा प्रयोग हुने गर्दथ्यो। तर हाल पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी पोलिमरबाट निर्मित तीन तहको पत्र भएको मास्क प्रयोगमा रहेको पाइन्छ ।

तथापि अल्पविकसित देशहरुमा कपडाबाट बनेको मास्कको प्रयोग अझैँ पनि उच्च रहेको छ । सर्जिकल मास्कहरु लगाउने व्यक्तिलाई श्वास फेर्दा हावामा भएका ब्याक्टेरिया, भाइरस जस्ता सुक्ष्म जीवाणुबाट हुने संक्रमणबाट रोक्न तयार पारिएको होइन । पूर्वी एशियाका देशहरु जस्तै चाइना, ताइवान, जापान तथा दक्षिण कोरियामा सर्वसाधारण जनताहरुले समेत वर्षभरी नै सामान्य अवस्थामा पनि सर्जिकल मास्क लगाउने गर्दछन् र पछिल्लो समयमा उक्त देशहरुमा मास्क लगाउने एक फेसन नै बनेको छ । जसको प्रभाव युवाहरुमा अझ व्यापक रुपमा रहेको छ र अन्य देशहरुमा पनी यो फेसनको रुपमा विस्तार हुँदै गएको पाईन्छ ।

यस प्रकारको मास्क खुकुलो प्रवृत्तिको हुने हुँदा मास्क लगाउने व्यक्तिलाई बाहिर हावामा भएको ब्याक्टेयिा, भाइरस जस्ता सुक्ष्म जिवाणुहरुबाट रोक्न सक्दैन। तर लगाउने व्यक्तिको नाक मुखबाट आउने थुकका छिटा सोही मास्कमा टाँसिने हुँदा हावामा फैलिन पाउँदैन, जसले गर्दा अन्य व्यक्तिमा ब्याक्टेरिया भाइरस सर्नबाट बचाउँछ ।

फिल्टरिङ फेसपिस रेस्पिरेटर्स (एफएफआर)
सुरुआती समयमा सर्जिकाल मास्क एक पत्रको गज कपडाबाट बनाउने प्रचलन थियो। यस्तो मास्क खुकुलो हुने कारण श्वास–प्रश्वासको माध्यमबाट सर्ने रोग, वातावरण प्रदुषणका कारण हावामा भएका सुक्ष्म तथा जैविक विषाक्त कण जस्ता चिजबाट बचावट गर्न सक्दैनथ्यो ।
पछिल्ला समयहरुमा मानव स्वास्थ्यमा श्वासप्रस्वास जन्य रोगको महामारी फैलिने, वातावरणमा प्रदुषण बढ्ने जस्ता समस्याका कारण फरक प्रकारका मास्कहरु बनाउने र लगाउने प्रचलनको विकास सन् १९६० को दशक तिरबाट सुरु भयो । यस्तो प्रकारको बाहिर वातावरणमा रहेको सुक्ष्म जैविक कणबाट मास्क लगाउने व्यक्तिलाई सुरक्षा प्रदान गर्ने मास्क ई फिल्टेरिङ फेसपिस रेस्पिरेटर्स भनिन्छ ।


यो एक विशेष प्रकारको मास्क हो। यो मुख्य गरी तीन प्रकारको हुन्छ । १) एनः चिल्लो पदार्थबाट बचाउन नसकिने, २) आरः चिल्लो पदार्थबाट केही मात्रामा बचाउन सकिने र ३) पिः पूर्णरुपमा चिल्लो पदार्थबाट बचाउन सकिने। एफएफआरलाई भिन्दाभिन्दै निकायहरुले भिन्न गुणस्तर कायम गरेका छन् ।

उदाहरणका लागि संयुक्त राज्य अमेरिकाले एन(९५, युरोपमा एफएफपी(२, चाईनाले केएन(९५, अस्ट्रेलियारन्युजिल्याण्डले पी(२, कोरियाले कोरिया फस्ट क्लास र जापानले डिएस ।

एफएफआरहरुको बनावट र प्रविधिहरु करिब उस्तै भएका कारण सबैलाई बराबर मन्यता दिइएको छ। यस्तो मास्क विशेषगरी रोगको महामारी तथा स्वास्थ्यको आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीहरुले लगाउन सिफारिस गरिन्छ ।

एफएफआर आफ्नो अनुहारको आकारअनुसार राम्रोसँग कसिने गरी लगाउन सके रोगको महामारीमा खटिने स्वास्थ्यकर्मीहरु स्वास्थ्य आकस्मिकताको समयमा हावामा भएको ब्याक्टेरिया, भाइरस, विभिन्न जैविक तथा विषाक्त कणहरु छिर्न बाट ९४–९५ प्रतिशतभन्दा माथिसम्म बच्न सक्दछन् ।

सर्वसाधारणहरुका लागि मास्क र यसको सही प्रयोग गर्ने तरिका
सामान्यतया घरमा र समुदाय स्तरमा मास्क प्रगोगलाईभन्दा हातको सरसफाईलाई नै रोगबाट बच्ने उत्तम उपायको रुपमा सिफारिस गरिन्छ । विषेशगरी पूर्वि एशिया तिर सर्जिकल मास्क लगाउने चलन अत्यन्तै लोकप्रिय छ ।

पछिल्ला समयमा नेपाल, भारत लगायत दक्षिण एशियाली राष्ट्रहरुमा पनि वायु प्रदुषणको प्रभावबाट बच्न मास्क लगाउने सर्वसाधारणहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । यसै परिपेक्षलाई मध्यनजर गर्दै हालैका दिनहरुमा मास्क उत्पादकहरु पनि हावामा भएको प्रदुषणलाई छान्ने प्रविधियुक्त मास्क उत्पादन र वितरणमा तल्लीन रहेको पाइन्छ ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)का कारण मानिसहरु यसबाट बच्न मास्क उपयुक्त हुने विश्वासका साथ मास्कको प्रयोग बढाईरहेका छन्। विश्व स्वास्थ्य संगठन (संयुक्त राष्ट्र संघको स्वास्थ्य नियामक निकाय)ले सर्वसाधारणका लागि मास्क प्रयोग गर्ने उपयुक्त अवस्था र उचित तरिका सुझाएको छ र यो अत्यन्तै व्यवहारिक तथा वैज्ञानिक छ, जुन निम्नानुसार छनः

१. सर्जिकल मास्कले हावामा भएका कुनै पनि सुक्ष्म जिवाणुहरुलाई छेक्न सक्दैँन। यस्तो मास्क केवल हातको सही सरसफाई सहित प्रयोग गरेमा मात्र प्रभावकारी हुन सक्छ। अतः साबुनपानीले मिचिमिचि हात धुने, साबुन पानि उपलब्ध नभएमा अल्कोहल मिसिएको स्यानिटाइजरले हात धुनु नै उत्तम उपाय हो ।

२. तपाई स्वस्थ्य हुनुहुन्छ भने मास्क लगाउन जरुरी छैन ।

३. तपाईलाई रुघाखोकी लागेको र कोरोनाको शंका लागेको व्यक्तिको नजिक जानु परेमा वा हेरचाह गर्नु परेमा मास्क लगाउन सक्नुहुन्छ ।

४. तपाईलाई रुघाखोकी लागेको छ, हाच्छ्यूँ आएको छ भने मास्क लगाउनुहोस् ।

५. मास्क लगाउँदा निम्न कुराहरुमा ध्यान दिनु जरुरी छः

क) मास्क लगाउनु पुर्व साबुन पानी वा अल्कोहल युक्त स्यानिटाइजरले हात धुने ।

ख) मास्क लगाउँदा नाकमुख पूर्णरुपमा छोपिने गरी लगाउनुहोस् र यसो गर्दा कतैबाट पनि चर नपर्ने गरी टम्म मिलाउनुहोस् ।

ग) लगाएको मास्कलाई हातले नछुनुहोस, यदि छोइएमा तुरुन्त साबुन पानी वा अल्कोहलयुक्त स्यानिटाइजरले हात धुनुहोस् ।

घ) मास्क भिजेपछि (थुकका छिटाबाट) छिटोभन्दा छिटो नयाँ मास्क फेर्नुहोस्, यसो गर्दा मास्कको डोरीमा समाएर खोल्नुहोस् अनि सुरक्षित तरिकाले उचित स्थानमा विसर्जन गरी हात धुनुहोस् ।

प्रतिक्रिया दिनुहोस्