कांग्रेसभित्र सोमबार देखिएका रोचक दृष्य, यतिसम्म भयो !


ओकेजनता डेस्क
४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो हरेक मञ्चमा निर्वाचन गर्नुपर्ने भन्दै अडान लिइरहेका छन् । निर्वाचन आयोगलाई पनि उनले सोमबार रुपन्देहीबाट नेकपाको विवाद मिलाउन आग्रह गरे ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सदर गरेमा निर्वाचनका लागि तयार हुन उनले नेता कार्यकर्तालाई भनेका छन् । उसोत राप्रपाका नेता कमल थापाले पनि विघटन सदर भए निर्वाचनमा जानुपर्ने बताइरहेका छन् ।

यतिबेला नेपाली कांग्रेसभित्र देखिएको दृष्य निकै फरक छ । देउवा रुपन्देहीको मञ्चबाट बोलिरहँदा सोही मञ्चमा रहेका अर्का नेता बालकृष्ण खाँड प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरिरहेका थिए । चितवनबाट गगन थापा ओलीको प्रतिगामी कदमका विरुद्ध खरो रुपमा उत्रिए ।

थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चर्याली निकाल्नेदेखि राज्यका सबै निकाय आफ्नो मातहतमा ल्याएर कू गर्न खोजेको छन्, ओलीले गर्ने निर्वाचन तोकेका होइनन् उनको स्वेच्छाचारी र तानाशाहलाई केही तन्काउनका निम्ति यो फण्डा अपनाएका हुन ।’

गगन थापाले प्रधानमन्त्री ओलीले संविधानको शासन नभएर सनकको शासन गरिरहेको बताए । कांग्रेसका विभिन्न नेताहरु फरक फरक मञ्चबाट बोलिरहँदा सबैका अभिव्यक्ति फरक सुनिन्थे । यसरी हेर्दा सभापति देउवाप्रति उनीहरुको रोष स्पष्ट देखिन्थ्यो ।

धादिङमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले निर्वाचन होइन संविधान हेर्नुपर्छ भनिरहेका थिए । निर्वाचनमा जाँदा देश खतरामा जाने भएकोले अहिले ओलीको प्रतिगामी कदम सच्याउनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्