निर्वाचन आयोगको बोल्ड डिसिजन, दाहाल–नेपाल सशंकित


ओकेजनता डेस्क
४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको तयारी भन्दै दुई दिन अघि नेकपाका दुवै पक्षलाई बोलायो । आयोगले दुवै पक्षलाई निर्वाचन आचारसंहिताको मस्यौदा तयार भएको र बाँकी छलफलका निम्ति भन्दै बोलाएको थियो ।

नेकपाका दाहाल–नेपाल र ओली पक्ष आयोगमा पुगे । केही समयको छलफलपछि दुवै पक्ष बाहिरिए । दाहाल–नेपाल पक्षका नेता लीलामणि पोखरेलले नेकपाको विवाद समाधान नहुञ्जेल निर्वाचन नहुने र त्यसमा सहभागिता जनाउन नसकिने बताए ।

तर, निर्वाचन आयोग अहिले पनि चुनावकै तयारीमा रहेको छ । मुलुकको ठूलो दल नेकपा विवादमा रहेका बेला आयोगले एकपक्षीय रुपमा निर्णय गर्न खोजेको दाहाल–नेपाल पक्षको तर्क छ ।

यतिबेला प्रतिपक्षी दल नेपाली कांग्रेस पनि प्रतिगामी कदम भन्दै सरकारको विरोधमा उत्रिएको छ । कांग्रेसले व्यवस्था धरापमा पारेर निर्वाचनमा जान नसकिने जनाइरहेको छ ।

यो समयमा निर्वाचन आयोगले कुन पक्षलाई नेकपाको आधिकारिकता दिने भन्नेमा निर्णय गर्न सकेको छैन । विधानतः नेकपाको दाहाल–नेपाल पक्षको बहुमत रहेको छ । ४४१ जना केन्द्रीय सदस्यमध्ये उनीहरुसँग ३१५ जना रहेका छन् ।

बाँकी केन्द्रीय सदस्य ओली पक्ष र बामदेव गौतमसँग बाँडिएका छन् । हृदेयश त्रिपाठी अर्को दल दर्ता गर्ने प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस्