आज सरस्वती पूजा विभिन्न कार्यक्रम गरी मनाइँदै


ओकेजनता डेस्क
४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । आज ‘श्रीपञ्चमी’ पर्व विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी मनाइँदै । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीबाट दिन लामो हुने विश्वासका साथ वसन्त ऋतु प्रारम्भ हुने भएकोले यसलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

आज विद्यालयहरुमा विद्याकी देवी सरस्वतीको विभिन्न कार्यक्रम गरी पूजा गरिन्छ । आजकै दिनहरुको बालबालिकाहरुलाई अक्षराम्भ पनि गरिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरु यो पूजामा सक्रिय हुन्छन् ।

आज कलम, कापी, कुर्सी र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गरिन्छ ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।

आजको दिन काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण पनि गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ ।

वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुहुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

आजै बालबालिकाको कान छेड्ने प्रचलन पनि छ ।

प्रतिक्रिया दिनुहोस्