निर्वाचन आयोगले नेकपालाई लडाउँदै छ : देउवा


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको रवैया ठिक नभएको बताउनुभएको छ । निर्वाचन आयोगले नेकपाका दुई पक्षलाई लडाउन भूमिका खेलेको देउवाको आरोप छ ।

रुपन्देहीमा नेपाली कांग्रेसले सरकारको प्रतिगामी कदमविरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले नेकपाको विवाद टुङ्ग्याउनु पर्नेमा लडाउन खोजेको आरोप लगाउनुभएको छ ।

निर्वाचन आयोगको भुमिका शंकास्पद देखिएको देउवाको जिकीर थियो । सभापति देउवाले नेकपाको कुन पक्षलाई सूर्य चिन्ह र नाम दिन मिल्ने हो त्यसको निर्णय गरेर आयोगले निर्वाचनको लागि अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्र निर्वाचन आयोगले निर्वाचन गराउनुपर्ने देउवाको भनाइ छ ।

विरोध सभामा बोल्दै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रधानमन्त्री ओलीले जनताको भावना नबुझेको आरोप लगाउनुभएको छ । खाडँले नेपालमा अब सिद्धिने पालो ओलीको आएको बताउनुभयो ।

बिरोध सभामा बोल्दै नेता भरतकुमार शाहले प्रतिनिधि सभा विघटन गरेका ओलीले उहीँ मानिसहरुलाई बारम्बार उतारेर तमासा देखाएको बताउनुभयो ।

विरोध सभामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रमोद यादव, लुम्बिनी प्रदेश सभा सदस्य रमा अर्याल, रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकलगायत नेताहरुले सरकारको प्रतिगमनका विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्