भागरथी हत्यापछि चडेपानीका किशोरीको अवस्था यस्तो छ…


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको १३ दिन भयो । अझै हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले हत्यारा नजिक पुगिसकेको दाबी गरेपनि त्यहाँका नागरिक अझै पत्याउन सकेका छैनन् । यसअघि पनि त्यहीँ क्षेत्रमा पाँच जनाको हत्या भइसकेको छ । अहिलेसम्म अपराधी पत्ता लाग्न सकेका छैनन् ।

यतिबेला चडेपानी मात्रै होेइन दोगडाकेदार गाउँपालिका लगायत बैतडी जिल्ला नै स्तब्ध छ । अहिले मुलुकको ध्यान समेत भागरथीको हत्यारा कहिले पत्ता लाग्छ भन्नेमा केन्द्रीत छ । हत्यास्थलमा विभिन्न क्षेत्रबाट मानिसहरु पुगेका छन् । उनीहरुले परिवारलाई सान्तवना दिएका छन् । गाउँलेलाई शान्त रहन भनेका छन् । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी बैतडीमै डेरा बनाएर बसेका छन् ।

गाउँलेहरु अहिले भागरथीको न्याय माग्दै आन्दोलित बनेका छन् । उनीहरुले भागरथीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका छन् । भर्खरै श्रीमान गुमाएकी भागरथीकी आमा छोरी गुमाउँदाको पीडालाई सहन गर्न सकिरहेकी छैनन् । उनको निभेको चुल्हो बल्न सकेको छैन । एक्लै भाइ भारत भएको अवस्थामा घरकी रक्षा कवज बनेकी भागरथीले नै बलात्कृत पछि मृत्युवरण गर्नुपर्यो ।

गाउँले नै त्रसित

चडेपानीमा कक्षा १० सम्म मात्रै अध्ययन हुने भूमिराज माध्यामिक विद्यालय छ । चडेपानीका करिब १२ जना छात्रछात्रा उच्च शिक्षाका लागि दोगडाकेदार गाउँपालिकामा अवस्थित सनातन धर्म माविमा पढ्न जान्छन् । उनीहरुको दैनिकी त्यहीँ लवलेकको बाटो विद्यालय जानु र घर फर्कनु हो ।

मनमा ठूलो आश बोकेर कक्षा ११ र १२ को अध्ययन गर्न उनीहरु सनातन धर्म माविमा जान्छन् । दिउँसोभरी पढ्छन् र साँझ घर फर्कन्छन् । अहिले उनीहरु विद्यालय नगएको १२ दिन बितिसकेको छ । विद्यालय जाँदा डर एकातिर छ भने बीच बाटोमा मिल्ने साथी भागरथीको हत्यास्थलले उनीहरुलाई निकै पिरोलेको छ ।

चडेपानीका गाउँलेको गाइवस्तु चराउने त्यहीँ जंगल हो । अहिले उनीहरुले गाइवस्तु जंगल डुलाउन छोडेका छन् । रातदिन भागरथीको हत्यारा पत्ता लागोस् भन्दै प्राथर्नारत छन् । विक्षिप्त परिवार र गाउँलेको आँशु पुछ्न प्रहरीले अनुसन्धानलाई क्लोज रिङमा ल्याएपनि हत्यारा पत्ता लागेको छैन ।

प्रहरीले हत्यारा कुनैपनि हालतमा नउम्किने बताउँदै आएको छ । स्थानीय व्यक्तिकै संलग्नतामा बलात्कारपछि हत्या भएको प्रहरी दाबी छ । करिब बुधबार दिउँसो २ः३० बजेतिर नै बलात्कार पछि हत्या भएको प्रहरी बताउँछ । भागरथीका परिवारले भने दिउँसोभरी अलग्गै स्थानमा बसेर राती घर पुर्याइदिन्छु भन्दै अपराधीले ल्याएर बलात्कार गर्न खोज्दा नमानेपछि हत्या गरेको आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्