भाग खोज्न थालेपछि प्रतिनिधि सभा विघटन गरेको हुँ : प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन आफ्नो रहर नभइ बाध्यता भएको बताएका छन् ।

सरकार गठनको तीनवर्ष पुगेको अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल भवनको पुनर्निर्माणपछिको उद्घाटनप गर्दै प्रधानमन्त्री ओलीले समानान्तर सत्ता सञ्चालनको अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताको ताजा जनादेशमा जानु लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै कसैलाई नआत्तिन समेत आग्रह गरे । पार्टीका केही नेताको आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेरै प्रतिनिधि सभा विघटन गरेको ओलीले स्पष्ट पारे ।

सरकार सञ्चालन आलोपालो भएरै मुलुकमा अस्थीरता निम्तिएको भन्दै ओलीले अब स्थीर र विकास प्रेमी सरकारको अपेक्षा गरेको दाबी गरे ।

आगामी बैशाखमा हुने मध्यावधि निर्वाचनले जनताले कस्तो सरकार चाहेका छन् त्यस्तै रुपमा मतदान हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनबाट कसैले भाग्न नहुने बताए ।

सरकारले काम गर्न सहजताका लागि ल्याएका अध्यादेश अड्काउने, संवैधानिक निकाय रिक्त राख्ने, नियुक्ति गर्न खोज्दा भाग खोज्ने प्रवृत्तिले प्रतिनिधि सभा विघटन गरेको हुँ, प्रधानमन्त्रीले भने ।

प्रतिनिधि सभा विघटन नभएको भए कसैसँग बहुमत नहुने र झनै देश अस्थीरताको भूमरीमा पर्ने ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्