प्रेसमाथि कामचलाउ सरकारको अर्को घात !


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने हेतुले सामाजिक सञ्जाल व्यवस्थापन गर्न खोजेको कांग्रेसको भनाइ छ ।

सरकार अन्तिम घडिमा रहेको बेला सकेसम्म आफूविरुद्ध गतिविधि नहोस् भन्दै सबै क्षेत्रलाई कडाइ गर्न खोजेको कांग्रेसको आरोप छ । विभिन्न वहानामा ओलीले सञ्चारमाध्यमलाई कमजोर पार्ने प्रयत्न गरिरहेको कांग्रेसले जनाएको छ ।

संसदमा विवादास्पद सूचना प्रविधि विधेयकलाई ब्युताउँने सरकारको तयारी रहेको भन्दै कांग्रेसले सबै पत्रकारलाई एकजुट हुन भनेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै, ‘कामचलाउ सरकारले जनभावना विपरित कसैका अधिकार कुण्ठित गर्ने, दबाउने कुचेष्टा नगरोस्’ भनेका छन् ।

सामाजिक सञ्जाललाई नियमन र प्रभावकारी बनाउनका निम्ति विद्यमान कानूनमा व्यवस्था हुँदाहुँदै ओली एकपछि अर्को अध्यादेश ल्याएर क्रुर बन्न नहुने कांग्रेसको तर्क छ ।

प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ भने ठूला सञ्चारमाध्यमले पनि प्रधानमन्त्री ओली सच्चिनुपर्ने बताउँदै आएका छन् । आफू एक्लो महसुश गरेपछि प्रधानमन्त्री ओलीले फरक कदम चाल्दै गएको विश्लेषक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्