भागरथीलाई दिउँसोभरी अन्तै लगेर राति हत्या भयो…


ओकेजनता डेस्क
२ फाल्गुन २०७७, आईतवार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको १२ दिन बितिसकेको छ । प्रहरी आफ्नो सम्पूर्ण बल लगाएर हत्यारालाई खोजिरहेको छ । क्लोज रिङबाट अनुसन्धान अगाडि बढिरहेको प्रहरीको भनाइ छ । मोबाइल भागरथीको हत्यारा पत्ता लगाउने महत्वपूर्ण अस्त्र बनेको प्रहरीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी अहिले पनि घटनास्थलमा छन् । काठमाडौंबाट अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको छ । भागरथीको हत्या भएको ठाउँ हेर्दा कच्ची सडकभन्दा ७० मिटर तल मात्रै छ । अग्ला–अग्ला सल्लाका रुखहरु छन् । घनाजंगल पनि छैन । प्रहरीका अनुसार घटना दिउँसो २ देखि ३ बजे भएको हो । तर, घटनास्थल हेर्दा मानिस आवातजावत गर्ने सडकको ७० मिटर मूनिमा अपराधीले कसरी यस्तो कर्तुत गर्नसक्छ ? प्रश्न उब्जिएको छ ।

भागरथीका काकाका अनुसार भागरथीलाई दिउँसोभरी कतै लगेर राखिएको र राति घर पुर्याउन आउँदा त्यो स्थलमा हत्या भएको हुनसक्ने अनुमान छ । भागरथीले अनैतिक सम्बन्ध राख्न नमान्दा बलात्कारपछि हत्या भएको हुनसक्ने उनका काकाको अनुमान छ । प्रहरीले हरेक प्राविधिक रुपमा विश्लेष गर्दा हत्या सोही स्थानमा र सोही समयमा भएको बताइरहेको छ ।

सामान्य रुपमा घटनास्थलको अवस्था हेर्दा करिब डेढ मिटरको मात्रै अग्लो झाडी छ, अग्ला सल्लाका रुखहरु छन् । सडकबाट हेर्दा अर्थात् चिच्याउँदा जो कोहीले थाहा पाउन सक्छन् । सडकमा चारपांग्रे गाडी गुड्छन् । दिउँसोको समयमा आवातजावत पनि हुन्छ । घटनाको प्रकृति हेर्दा निकै रहस्यमय बन्दै गएको छ ।

अब, भागरथी रहिनन्, यस्तो कर्तुत गर्ने जो कोही अपराधीलाई छिट्टै प्रहरीले पक्रिनुपर्ने स्थानीय बताउँछन् । अहिले सो बाटोमा एक्लै हिड्न विद्यार्थी डराइहेका छन् । सिंगो गाउँनै त्रसित छ ।

प्रतिक्रिया दिनुहोस्