बादल समूहसहित मन्त्री मणि थापा, गौरीशंकर चौधरीको समूह प्रचण्डसँग छलफलमा…


ओकेजनता डेस्क
३० माघ २०७७, शुक्रबार

काठमाडौं । यतिबेला नेपाली राजनीतिमा नेकपा विभाजनका कारण उतारचढाव बढेको छ । बैशाख १७ र २७ गते हुने भनिएको मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपाभित्रकै विवाद सहतमा छ । निर्वाचन आयोगमा दुवै पक्षले आफूहरु आधिकारिक नेकपा भएको दाबी पस्तुत गरिरहेका छन् ।

पछिल्लो समय नेकपाको विभाजनले नयाँ स्वरुप धारण गरेको छ । नेकपाका दुई पक्षमा नेताहरुको ओहोरदोहोर चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहेका मन्त्रीहरु दाहाल–नेपाल पक्षमा प्रवेश गर्ने विषयले पछिल्लो समय चर्चा बटुलेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतको समूह भर्खरै सम्पन्न युवा संघको भेला देखि ओलीसँग असन्तुष्ट बनेको छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी नियुक्त गरेको उसको निष्कर्ष छ । बादल समूहले उक्त भेलालाई बहिष्कार पनि गरेको थियो ।

यता, मन्त्री गौरीशंकर चौधरीले आफ्नै निर्वाचन क्षेत्रमा पटक–पटक कालो झण्डाको सामना गर्नुपरेको छ । पिसाब फेर्न निस्कन्छु भन्दै गएका चौधरी ओली पक्षका मन्त्री बनेको भन्दै उनका कार्यकर्ताले विरोध गरिरहेका छन् । निहित स्वार्थमा लिप्त भएको भन्दै उनको क्षेत्रका जनताहरु रिसाएका छन् । उनलाई ओली पक्षबाट आगामी निर्वाचन लड्न असहज देखिएको छ ।

मन्त्री मणि थापा पनि पछिल्लो सिनारियो हेर्दा दाहाल–नेपाल पक्ष बलियो भएको निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार उनको दाहाल–नेपाल पक्षका नेतासँग नियमित सम्वाद भइरहेको छ । बौद्धिक जमात दाहाल–नेपाल पक्षमा रहेको भन्दै ओली पक्षका केही नेताहरुले दाहाल–नेपाल पक्षमा फर्किन चाहेको खुलेको छ ।

यता, दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि तीन मन्त्रीहरु यता आउन चाहेको बताएका छन् । आफूसँग तीन मन्त्रीहरुले नियमित सम्वाद गरिरहेको भन्दै प्रचण्डले उहाँहरु उचित समयको पर्खाइमा रहेको बताए । दाहाल–नेपाल पक्षमा नेताहरु भित्रिने क्रमले यो खेमा बलियो बन्दै गएको छ ।

ओली पक्षका एक नेताका अनुसार पार्टी विधिवत रुपमा विभाजन नभइसकेकोले मिल्ने सम्भावना पनि बढेर गएको छ । मनभित्रका तित्तता विसर्जनपछि पुनः एकै ठाउँमा नेकपा उभिनुपर्ने उनको तर्क छ । अध्यक्षहरुको नजिक रहेका सुसारेका कारण पार्टीको ग्राफ बढ्दै गएको ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्