झाँक्रीको घरमा बिहानैदेखि देखिएको दृष्य वृत्तान्त : छोरा, श्रीमान र परिवारको दुखेको मन


ओकेजनता डेस्क
३० माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार बिहानसम्म आफू पक्राउ पर्छु भन्ने लागेको थिएन । उनले आफू पक्राउ हुनुपर्ने त्यस्तो अपराध पनि गरेकी थिइनन् । तर, राजनीतिमा होमिएका व्यक्तिको जीवन कहाँ निजी हुँदो रहेछ, उनले गरेका सामान्य टिप्पणीहरु पनि ठूलो अर्थ राख्छन् ।

गोरखाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बानेश्वरमा रहेको घरमा फर्किन वा नभए बालकोट नै जान भनेकी थिइन् । तर, उनले बालकोट कहाँ र कसकोमा जाने भन्ने खुलाएकी थिइनन् । शंकाले लंका जलाउँछ भनेझैँ बालकोट शब्दले उनको गिरफ्तारी तय भएको थियो ।

बिहीबार बिहानै प्रहरीका बुट झाँक्री निवास शंकमुल ठोकिए । उनी उनका श्रीमान, छोरा र परिवारका अन्य सदस्य भित्रै थिए । प्रहरी घरमा आएको चाल पाएपछि झाँक्रीको मनमा चिसो पस्यो । पक्कै उनले आफूलाई पक्राउ गर्न प्रहरी घरमै आएको ठम्म्याइन् र पार्टीका नेता, कार्यकर्तालाई आफूलाई पक्राउ गर्न प्रहरी आएको भन्दै फोन गरिन् ।

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला ।

उनको फोनले घरमा नेकपाका शीर्ष नेताहरु, विद्यार्थी संगठनका नेता कार्यकर्ता भरिभराउ भइसकेका थिए । प्रहरीको संख्या पनि थपिँदै गएको थियो । प्रहरीले झाँक्रीलाई पक्राउ गर्न खोज्दा झडप पनि भएको थियो । प्रहरी झाँक्री निवास त पुग्यो र पक्राउ पूर्जी थिएन । पक्राउ पूर्जी नभएपछि झाँक्रीले आफू नजाने बताइन् ।

प्रहरीले त्यसपछि पक्राउ पूर्जी जारी गरेर झाँक्रीलाई पक्राउ गर्ने तयारी गर्यो । पक्राउ पूर्जी पाएपछि झाँक्रीले राज्यको कानून मान्ने भन्दै गिरफ्तारी स्वीकारिन् । उनी प्रहरी समक्ष हाजिर भइन् । झाँक्री निवासमा उनका समर्थकहरु नाराबाजी गरिरहेका थिए । नारामा भनिएको थियो, ‘रामकुमारी झाँक्री हाइहाइ, केपी विद्या बाइबाइ, खड्के चोर देश छोड ।’

प्रहरी घरकै आगनमा आएपछि परिवारको मन आत्तिनु स्वभाविक थियो । उनका श्रीमान् र छोरा केही निराश देखिन्थे । झाँक्रीले त परिवारको मन बुझाउनकै लागि आफू बलियोसँग उपस्थित हुनुनै थियो । संविधानको धारा ५८ अनुसार उनलाई राज्यद्रोहको मुद्धा लगाइएको थियो ।

जसमा कसुर प्रमाणित भए ७ वर्ष जेल र ७० हजार जरिवाना हुने थियो । संसद र राष्ट्रपतिलाई गालीबेइजती गर्न नपाइने यस धारामा उल्लेख छ ।

छोराको कोमल मन

झाँक्रीलाई पक्राउ गर्न प्रहरी आगनमै पुग्दा उनका ८ वर्षीय छोरा आरव अनलाइन क्लास लिइरहेका थिए । केहीबेरसम्म त आरवलाई केही जानकारी दिइएको थिएन । झाँक्रीका श्रीमान पशुपति पूरीले छोराको मष्तिष्कमा केही असर नहोस् भने पनि जानकारी गराएका थिएनन् । मानिसको चहलपहल बढ्दै गयो, छोराले पनि घरमा प्रहरी आएको थाहा पायो ।

आरवले झाँक्रीलाई सोधे ममी किन हाम्रो घरमा प्रहरी आएको ? उनले भनिन्, ‘खै ! बाबु तिम्रा नेता बुवाले के गर्न खोज्नुभएको हो, उनले गर्दा नै आज घरमा प्रहरी आयो ।’

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला ।

आरवले नेता बुवा भन्ने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झिन्छन् । एकपटक प्रधानमन्त्रीले आरवलाई भकुन्डो गिफ्ट पठाएका थिए । त्यतिबेला झाँक्रीले उनको परिचय ‘नेता बुवा’ भनेर दिएकी थिइन् । जब प्रहरीले झाँक्रीलाई पक्रेर लग्यो त्यतिबेला आरव झ्यालबाट हेरिरहेका थिए ।

पशुपति पूरी र रामकुमारी झाँक्री ११ वर्ष अघि बिहीबारकै दिन विवाह बन्धनमा बाँधिएका थिए । उनको एनिभर्सरी पनि थियो । संयोगले बिहीबारको दिन उनीहरुका लागि झनै सम्झिन सहज बन्यो ।

प्रतिक्रिया दिनुहोस्