सरकारका तीन मन्त्री दाहाल–नेपाल पक्षमा आउँदै, को हुन् ती मन्त्री ?


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारका तीन मन्त्री आफूहरुसँग आउन लागेको खुलाएका छन् ।

नियमित ती मन्त्रीहरुसँग सम्वादमा रहेको भन्दै प्रचण्डले ओलीको प्रतिगमनका मतियार ती मन्त्री बन्न नसक्ने दाबी गरे । ओली प्रवृत्तिबारे नजिकैबाट अध्ययन गरिसकेपछि ती मन्त्री फर्किन लागेको प्रचण्डको भनाइ छ ।

प्रचण्डले भने, ‘म अहिले नाम खुलाउँदिन, उहाँहरु म सँग नियमित सम्वादमा हुनुहुन्छ, सबै देशभक्त नागरिक हाम्रै पक्षमा छन् ।’ मुलुकको बौद्धिक जमात आफ्नो पक्षमा रहेको प्रचण्डले दाबी गरे ।

प्रचण्डका अनुसार प्रधानमन्त्री ओलीको समूहमा कसैलाई चिडियाखानामा थुन्छु भन्ने त कोही भ्रष्ट्राचारको दलदलमा फसेका व्यक्ति मात्रै छन् । ओलीको पछिल्लो समय अभिव्यक्ति नरम बन्दै गएकाले उनलाई आत्मग्लानी भइसकेको प्रचण्डले दाबी गरे ।

ओलीको शासन कागजमा मात्रै रहेको बताउँदै प्रचण्डले त्यो कागज केही दिनमै जल्ने बताए । जनताको भावनामाथि कुठाराघात गर्ने ओली प्रवृत्तिको अन्त्यका लागि एकपटक दुःख गर्नुपर्ने बेला आएको उनको भनाइ छ । प्रचण्डले जनप्रदर्शन यस्तो हुन्छ भन्दै ओलीलाई हेर्न आग्रह गरे ।

नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाए । निर्वाचन आयोग पुगेर आफूलाई नै आधिकारिकता प्रदान गर्न ओलीले दबाब दिएको जानकारी आएको नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्