दाहाल–नेपाल पक्षले आज दुईलाख मानिस उतार्ने, ओलीलाई हेर्न आग्रह


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा (आन्दोलनरत पक्ष)को आज काठमाडौंमा बृहत्त जनसभा हुँदैछ । जनसभामा दाहाल–नेपाल पक्षले दुई लाख भन्दा बढी मानिस उतार्ने दाबी गरेको छ ।

जनसभामा सहभागी हुन काठमाडौंमा स्वःस्फूर्त रुपमा मानिसहरु आएको दाहाल–नेपाल पक्षले जनाएको छ । सरकारले जस्तो भत्ता र खाना दिएर मानिस उतार्न नसकिने दाहाल–नेपाल पक्षले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जनसभामा पैसा र भत्ता दिएर केही मानिस भाडामा ल्याएको बताउने नेकपा (दाहाल–नेपाल पक्ष)का नेता जीवनराम श्रेष्ठले आफूहरुको पक्षमा जनमास त्यतिकै उर्लिने दाबी गरे । प्रतिनिधि सभा विघटनविरुद्ध निशुल्क अदालतमा वकिलहरुले बहस गरिरहेको बताउँदै श्रेष्ठले मोटो रकम दिएर राजाको पालाका वकिल किनेर व्यवस्था धरापमा फाल्न नसकिने जिकीर गरे ।

माघ २३ गते ओली पक्षले काठमाडौंमा गरेको जनसभामा कम मानिस देखेर प्रधानमन्त्री आत्तिएको र बोल्न नसकेको उनको दाबी छ ।

जनलहर कस्तो हुन्छ आज हेर्न समेत श्रेष्ठले ओलीलाई आग्रह गरे । आज देशैभरबाट दाहाल–नेपाल पक्षको जनसभामा सहभागी हुन जनताहरु काठमाडौं आइरहेको नेताहरुले बताएका छन् ।

दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको जनसभा ऐतिहासिक हुने दाबी गरेका छन् । प्रतिगमनले खुट्टा कमाइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्