रामकुमारी झाक्रीलाई पक्राउ गर्ने प्रहरीको यस्तो तयारी !


ओकेजनता डेस्क
२७ माघ २०७७, मंगलवार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)की प्रखर नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले खोजी शुरु गरेको बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै ओली पक्षीय अखिल नेपाल महिला संघ (अनेमासंघ) ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए ।

भीभीआइपीलाई गालीगलौज गरेको कसुरमा झाँक्रीलाई पक्राउ गर्ने तयारी गरिएको प्रहरी स्रोतको भनाइ छ । प्रतिनिधि सभा विघटनविरुद्धको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीलाई भनेकी थिइन्, ‘निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिले कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ ।’

उनले अगाडि भनेकी थिइन्, ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’

प्रहरीले अहिले झाँक्री उपत्यका बाहिर रहेको बताएको छ । काठमाडौं आउनासाथ झाँक्रीलाई पक्राउ गरिने प्रहरी दाबी छ । गृहमन्त्री थापाले पनि झाँक्रीलाई पक्रिन आदेश दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्