सरकारसँग वार्ता गर्नेबारे विप्लव बोले, हाम्रो यस्तो तयारी छ !


ओकेजनता डेस्क
२६ माघ २०७७, सोमबार

काठमाडौं । सरकारले प्रतिबन्धित समूह नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता गर्ने तयारी गरिरहेको समाचार बाहिरिएका बेला विप्लवले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

ई–रातो खबर डटकमसँग कुरा गर्दै विप्लवले सरकारले वार्ताका नाममा दमन नीति लिएको स्पष्ट पारेका छन् । वार्ता गर्ने ईच्छा भएपछि आफ्ना मागहरु पूरा गर्नुपर्ने उनको तर्क छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता गर्ने भनेर आफूहरुको हालत सिके राउतजस्तै बनाउँछु भन्नु मूर्खता भएको बताए ।

उनले भनेका छन्, ‘सिके राउत, सिके राउत नै होला र हामी फरक हौँ । यदि वार्ताको तयारी हुन्छ भने त्यो ढंगले अगाडि बढौँ । हाम्रा साथीहरुसँग प्रधानमन्त्री ओलीले बेलाबखत दूत पठाएर वार्ताको लागि कुरा गरेका छन् तर ठोस योजना भएन किन र के का लागि वार्ता गर्ने भनेर ?’

साच्चै वार्ताको लागि सरकार तयार भएमा आफ्ना शर्तहरु अघि सार्ने विप्लवको योजना छ । बिनाकारण बन्दी बनाइएका नेता, कार्यकर्ताहरुको रिहाइ, मुद्धा फिर्ता र केही राष्ट्र विरोधी कदम फिर्ता गर्नुपर्ने विप्लवको भनाइ छ ।

प्रधानमन्त्री ओली पनि आजको अवस्थामा विप्लवसँग वार्ता गर्न तयार रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्