देउवालाई प्रधानमन्त्री ओलीले दिए यो ‘ललिपप’


ओकेजनता डेस्क
२६ माघ २०७७, सोमबार

काठमाडौं । यतिबेला नेपाली राजनीतिक वृत्त प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वरिपरि घुमिरहेको धेरैको आंकलन छ । यद्यपि अहिलेको बलियो पात्र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा पनि हुन् ।

सत्ता सञ्चालन गरिरहेका प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता देउवाबीच शक्ति समिकरण भइरहेको अनुमान गरिन्छ । पछिल्लो समय संवैधानिक नियुक्ति गर्दा देउवाले प्रस्ताव गरेका सबै व्यक्ति नियुक्त भए । यसले पनि प्रतिपक्षी दल र सरकारबीच केही साँठगाँठ भएको अनुमान गरिन्छ ।

नेपाली कांग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सरकारको कटु आलोचक भएको छ । उसले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको छ । कांग्रेस बलियो रुपमा सडकमा नआउँदा प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलन सशक्त बन्न नसकिरहेको कांग्रेसकै एक नेताको भनाइ छ । यद्यपि नेकपा (दाहाल–नेपाल पक्ष) सशक्त रुपमा सडकमा उर्लिएको छ । माघ २८ गते काठमाडौंमा दाहाल–नेपाल पक्षले अर्को जनसभाको आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संसदलाई विघटन गर्दै मध्यावधि निर्वाचनको तयारी गरिरहेका छन् । यता, दाहाल–नेपाल पक्ष व्यवस्थालाई नै धरापमा पारेर निर्वाचन के माग्न जाने भनिरहेको छ । ‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ भन्ने कुरामा दाहाल–नेपाल पक्ष दृढ छ ।

देउवाको आश !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ओलीले आगामी प्रधानमन्त्रीको ललिपप चुसाएको धेरैको बुझाइ छ । अहिलेको राजनीतिक घटनाक्रम यहीँ हिसाबले अगाडि बढ्यो र बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने स्थिति आएमा प्रधानमन्त्री देउवालाई सुम्पिने ओलीको रणनतिक योजना रहेको स्रोत बताउँछ ।

कांग्रेस पनि सरकारमा रहेर निर्वाचनमा जाँदा केही राहत हुने महसुश गरिरहेको छ । यद्यपि पौडेल पक्ष मानिरहेको छैन । देउवा पौडेल पक्षलाई फकाइरहेका छन् । प्रधानमन्त्री ओलीको आशमा तुषारापात भएमा बैशाखबाट कांग्रेस बलियो रुपमा सडकमा ओर्लिने विश्लेषकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्