काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भगिरथी भट्टको मृत्यु प्रकरणमा नयाँ रहस्य खुल्दै गएका छन् । उनको हत्या नै भएको परिवारको दाबी छ ।
स्थानीय एक विद्यालयमा अकाउन्ट विषय लिएर अध्ययन गरिरहेकी भगिरथी उक्त तहको एकमात्र विद्यार्थी थिइन् । उनी अरु साथीहरु भन्दा केही समय ढिलो विद्यालयबाट आउँथिन् ।
साँझ एकान्त जंगलमा एक्लै फेला परेपछि उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । शरिरको स्थिति हेर्दा पनि नीलडाम र चोथरेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।
कसले र किन हत्या गर्यो भन्नेबारे खुलेको छैन । अहिले प्रहरीले तालिम प्राप्त कुकुरको सहायताले अभियुक्तको खोजी गरिरहेको छ । आशंकित ६ जना व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भगिरथीका आफन्तले दोषीको खोजी गरी कडा कारबाहीको माग गरेको छ । स्थानीयहरु पनि घटनापछि त्रसित भएका छन् ।