बामदेव गौतमले रोजे नेकपाको यो पक्ष


ओकेजनता डेस्क
२३ माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले आफू कसैको निकट नभएको बताएका छन् ।

नेकपा विभाजनपछि बीचमा उभिएका नेता बामदेव गौतमले प्रचण्डसँग आफ्नो सिद्धान्त नमिल्ने र ओलीलाई समर्थननै गर्न नसकिने बताए । एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेता गौतमले आफू जनयुद्धको विरोधि भएकाले प्रचण्डलाई समर्थन गर्न नसकिने बताए ।

उनले अन्तिम अवस्था आएमा जनताको बहुदलीय जनवादका हिमायती माधवकुमार नेपालको हात समाउन सकिने बताए । गौतम बीचमा उभिएपछि नेकपाका दुवै पक्षले आफ्नो तिर तान्नका लागि लबिङ गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आश्वासनबाट आजित भइसकेका गौतम दुवै तर्फ भविष्य अन्योल देखिएकाले बीचमा उभिएका छन् ।

नेकपाको लडाइँले तेस्रो दलले अवसर पाउने निष्कर्ष निकाल्दै गौतमले एकता अभियानको सुरुवात नै गरेका छन् । गौतमको निर्णयमा पनि नेकपाका शीर्ष नेताले साथ दिएको पाइएको छ ।

नेपाली कम्युनिष्ट राजनीतिमा जहिले पनि भकुण्डो बनाइएका गौतम यसपाली भने प्रधानमन्त्री ओलीबाट जोगिएका छन् ।

मनमा प्रधानमन्त्री बन्ने सपना सजाएका गौतमले नभनेपनि उनको मनले प्रधानमन्त्रीकोे सपना संगालेर राखेको एक नेकपा नेताले बताए । ती नेताका अनुसार प्रधानमन्त्री बनाउने पासा थापेर ओलीले आफूतिर आकर्षित गरेपनि पासामा दुई काना आउने छ ।

यतिबेला नेकपा उपाध्यक्ष समेत रहेका गौतमलाई लोकतन्त्रको रक्षा गर्न अग्रसर हुन ती नेताको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्